शुक्रबार, चैत १६, २०८०
15:14 | २०:५९

टोकियोमा सङ्क्रमित बढेसंगै सङ्कटकालको सम्भावना

रासस/एएफपी डिसेम्बर ३१, २०२०


टोकियो, १६ पुस– जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन १३ सय जना सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ कि छैन् भन्ने बारेमा सम्वन्धित मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेका छन् । बिहीबार बेलुका भएको छलफलबाट तत्काल संकटकाल लगाउने निर्णय भने नभएको उनले बताए । तर संकटकाल लगाउनु पर्ने अवस्था आउन सक्ने बारेमा भने छलफलमा सहभागीहरुले बताएका थिए ।

बैठकपछि पत्रकारहरुसँग प्रधानमन्त्री सुगाले भने, “अहिलेसम्मको अवस्था हेर्दा सङ्क्रमणको दर बढ्दो छ, यो धेरै गम्भीर अवस्था हो ।”

उनले सवै नागरिकलाई मास्क लगाउन, सावुन पानीले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न पनि आह्वान गरेका छन् ।

स्थानीय सरकारसँग मिलेर प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न पनि उनले सरोकारवालाहरुलाई निर्देशन दिएको जनाइएको छ ।

जापानको राजधानी टोकियोमा मात्रै एकैदिनमा एक हजार ३३७ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक भए लगत्तै प्रधानमन्त्री सुगाले थप सक्रियता र चिन्ता देखाएका हुन् ।

यो दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जनाइएको छ । यसअघि सवैभन्दा धेरै गत शनिबार ९४९ जना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुले देशभरी दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या चार हजारभन्दा बढी रहेको जनाएका छन् ।

टोकियोका गभर्नर युरिको कोइकेले पनि सङ्क्रमितको सङ्ख्या तीब्र रुपमा बढ्दै गएकाले अहिलेको अवस्था चिन्ताजनक हुदै गइरहेको भन्दै उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेका छन् ।

उनले भने, “यो अति गम्भीर अवस्था हो, त्यसतर्फ हामी सवै सतर्क हुनुपर्दछ, अहिले नयाँ बर्ष मनाउने वा रमाइलो गर्ने अवस्था छैन् ।”

कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने भएकाले भिडभाड नगर्न र घर बाहिर ननिस्कन पनि उनले सवैलाई आग्रह गरेका छन् ।

जापानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म तीन हजार ५०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू