शनिबार, वैशाख ८, २०८१
20:13 | ००:५८

बेलायतबाट लेबनान पुगेका व्यक्तिमा नयाँ भाइरस संक्रमण

रासस-सिन्ह्वा डिसेम्बर २७, २०२०

बेरुत । लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट लेबनानको राजधानी बेरुत पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् ।

उनले बेलायतबाट बेरुत आएका एकजना नागरिकमा कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको जानकारी शुक्रबार दिएका बताइएको छ । गएको सोमबार जहाजबाट लेबनान आएका ती नागरिकमा यो संक्रमण भेटिएको थियो ।

त्यसपछि सो जहाजमा आएका सबैजना यात्रुहरुलाई सतर्क रहनका साथै अन्य सुरक्षित मापदण्डहरु अपनाउन भनिएको पनि स्वास्थ्य मन्त्री हसनले जानकारी दिए ।

ती संक्रमित भेटिएपछि लेबनान सरकारले बाहिरबाट आउने उडानहरुमाथि प्रतिबन्ध लगाएको स्वास्थ्य मन्त्री हसनले ट्वीटमार्फत जानकारी दिएका छन् ।

केही समयअघि मात्र बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ संक्रमण अर्थात् प्रकार युरोपका विभिन्न देशमा पनि देखिएको छ । यो संक्रमण फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रान्सेली पुरुषमा उक्त भाइरस पाइएको थियो ।

उनलाई उनकै घरमा आइसोलेसनमा राखिएको र अहिलेसम्म उनमा कुनै लक्षण भने नदेखिएको बताएको छ । सो नयाँ संक्रमणको घटनापछि फ्रान्सले पनि गएको बुधवारदेखि नै बेलायतसँगको आवतजावतमा प्रतिबन्ध लगाउने बारेमा नीति बनाएको थियो ।

यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र नेदरल्यान्ड्समा पनि पाइएको थियो । नयाँ प्रकारको भाइरस थप संक्रामक भएको भन्ने विवरणहरु आइरहेका छन् । यसपछि विश्वका थुप्रै देशले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन् । नयाँ प्रकारको भाइरसको संक्रमण रोक्न बेलायतमा पनि अहिले अत्यन्तै कडा बन्देजहरू लागू गरिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू