शुक्रबार, वैशाख १४, २०८१
20:39 | ०१:२४

फ्रान्सेली राष्ट्रपति कोरोनाबाट मुक्त

रासस-एएफपी डिसेम्बर २४, २०२०


पेरिस, ९ पुस– फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ कोरोना लक्षणमुक्त भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएको एक हप्तापछि उनमा कोरोनाको कुनै लक्षण नदेखिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बस्दै आएका थिए । उनले सेल्फ आइसोलेसनस्थलबाटै कार्यालयका कामहरु पनि गर्दै आएको अधिकारीहरुले बताएका छन् ।

सुरुदेखि नै गम्भीर समस्या नदेखिएकाले क्वारेन्टिनमा बस्न आवश्यक नभएकाले उनी घरमै सेल्फ आइसोलेसनमा बसेका जनाइएको छ ।

“राष्ट्रपति म्याक्रोँलाई अहिले कुनै लक्षण देखिएको छैन,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

सङ्क्रमित भएपनि उनले कामलाई निरन्तरता दिएको र मुलुकको महत्वपूर्ण कार्यहरूमा कुनै असर नगरेको अधिकारीहरुको भनाइ छ ।

अघिल्ला दिनमा ४३ बर्षीय राष्ट्रपति म्याक्रोँको अवस्था स्थीर भएपनि बुधबारदेखि भने धेरै सुधार भएको पाइएको छ ।

फान्समा क्रिसमस विदाको बेलामा कोरोनाभाइरसको महामारी थप फैलिनसक्ने चिन्ता धेरैले व्यक्त गरेका छन् भने कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु लागू गरिएको छ ।

कोरोनाबाट सङ्क्रमित भएका मध्ये फ्रान्समा अहिलेसम्म कम्तीमा ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार बुधबार मात्रै झण्डै १५ हजार नयाँ सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । सोही अवधिमा २७८ जनाको मृत्यु पनि भएको छ ।

फ्रान्समा कोरोनाभाइरस विरुद्धको खोप आगामी आइतबारदेखि दिइने भएको छ । खोप सवैभन्दा पहिला स्वास्थ्यकर्मी र बृद्धबृद्धाहरूलाई दिइने अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू