शुक्रबार, चैत १६, २०८०
18:29 | ००:१४

कोरोना महामारी वर्षदिन पुग्यो तर कहर घटेन 

मोहिनी मिश्र/रासस डिसेम्बर २१, २०२०

काठमाडौं । विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न हालैमात्र सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउन ठूला समारोहहरुका साथै व्यापक जमघट गर्ने गरिन्छ । नागरिकहरु पनि ठूलो संख्यामा उपस्थित हुने र समारोह गर्ने भएकाले त्यसो नगर्न आग्रह विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ।

यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनल हालैमात्र दिएको छ । विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा बताएका हुन् ।

उनले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्य समस्याको अवस्था देखिएकोले सजगता अपनाउन भनेका छन् । उनले आगामी नयाँ वर्षका अवसरमा युरोपमा पहिलेका वर्षहरुमा जस्तै बिदा मनाउने क्रममा पहिलेका वर्षहरुमा जस्तै ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने गर्नाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुनसक्ने बताएका छन् ।

युरोपका निर्देशक ह्यान्सले शनिबार भनेका छन्– युरोपमा पछिल्लो समयमा यो महामारी झनै ठूलो मात्रामा बृद्धि भइरहेकोले अहिले झनै सतर्कता र सजगता अपनाउनुपर्ने आवश्यकता छ । बेलायत, जर्मनी र फ्रान्स लगायतका युरोपका कैयौँ देशहरुमा यतिखेर कोरोना महामारीको दोस्रो लहर आएको बताइएको छ ।

गएको शनिबारको तथ्यांकअनुसार युरोपमा मात्र २ करोड ३० लाखभन्दा बढी नागरिक यो महामारीबाट संक्रमित भएका छन् भने यस महामारीका कारण पाँच लाखभन्दा पनि बढी मानिसको ज्यान गएको पनि बताइएको छ । ह्यान्सले चिसोको मौसममा युरोपेली देशहरुमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाउनुपर्ने पनि बताए । एक चरणमा निकै समस्यामा परेको युरोप बीचमा निको भयो र प्राय सबैजसो व्यवसाय पनि आफ्नो लयमा फर्किने तयारी गर्दै थियो । तर अहिले आएको दोस्रो लहरले युरोपलाई समस्यामा पार्दैछ । यसबाट युरोपमा अहिलेको चिसो मौसममा महामारी झन् बढ्ने देखिन्छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणको एक वर्ष पुगेको छ तर अहिले पनि यसको त्रास भने कायमै छ । वर्षदिन पछि पनि यसरी युरोपमा क्रिसमस र नयाँ वर्षको अवसरमा मनाउने गरिएको समारोहहरु पनि नगर्न चेतावनी दिएको अवस्था अहिले पनि कायमै छ ।

एक वर्षको यस अवधि करिव पूरै विश्वलाई तर्साइरहेको यस भाइरसको कारण १७ लाख व्यक्तिको मत्यु भएको छ भने ७ करोड ७२ लाख व्यक्ति संक्रमित भएका छन् ।

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसबाट विश्वका शक्तिशाली देशहरुलाई यस भाइरस नियन्त्रणको लागि अत्यन्त गाह्रो भएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण चीनले नियन्त्रणमा लिन सफल भएको छ । कोरोनाबाट चीनमा ४ हजार ७५६ जनाको मृत्यु भएको थियो भने ९४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

चीनको हुबे प्रान्तबाट शुरु भएको यस भाइरसको कारण हुबे प्रान्तमा नै धेरैको ज्यान गएको थियो । चीनले हुबे प्रान्तमा ६७ दिनको लक डाउनपछि लगभग रोगलाई नियन्त्रणमा लिएको थियो । चीनको वुहानको जनसंख्या भन्डै एक करोड छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखेको थियो । चीनको नियन्त्रण गर्ने तरिका कदमलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले स्वागत गरेका थिए ।

वैज्ञानिक भाषामा यसलाई ‘२०१९– एन सीओभी’ भाइरस भनिन्छ । उक्त भाइरस कोरोनाभाइरस वर्गको एक खालको नयाँ प्रजातिका रुपमा विकास भएको वैज्ञानिकहरुले बताएका थिए । उनीहरुका अनुसार यो भाइरस यसअघि पनि मानिसमा फेला परेको थियो । वैज्ञानिकहरुले सन् २००० को दशकको शुरुआतमा नै यो भाइरसको प्रकोप बढेको बताएका छन् । उनीहरुले त्यस समयमा विश्वका विभिन्न देशमा यो भाइरसको संक्रमण बढेको र यसले ती देशमा झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो भनेका छन् ।

यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षणहरु हुन् । यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुदै जाने पनि अर्को एक समस्या हो । हाल विश्वका विभिन्न देशमा यस भाइरसका लक्षणहरु पनि विभिन्न थरीका देखिएको छ । लक्षण देखा नपर्दा पनि कोरोना भाइरस संक्रमण देखा पर्ने भएको पाइएको छ ।

चीनमा अत्याधिक मात्र कोरोना संक्रमण फैलिए लगत्तै दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा फैलिएको थियो । तर हाल विश्वका १९१ देशमा यो भाइरसको संक्रमण फैलिएको जोन हप्किङ्स् विश्वविद्यालयले तयार गरेका तथ्यांकहरुमा देखिएको छ । गत जनवरीमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण थियो । चीनको हुबेबाट केही दिनअघि फर्किएका ती अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको पुष्टि भएको थियो । सोही बेलाबाट हालसम्म अमेरिकामा १ करोड ८२ लाख भन्दा बढी संक्रमित भएका छन् भने यस संक्रमणको कारण ३ लाख २४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो आलेख तयार हुदाँसम्म अमेरिकामा १ करोड ३२ लाख भन्दा बढी निको भएका छन् ।

अमेरिकापछि कोरोना संक्रमणको कारण दोस्रो प्रभावित देश भारत रहेको छ । भारतमा कोरोना शुरु भएयता १ करोड ५६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यस संक्रमणको कारण भारतमा १ लाख ४६ हजार भन्दा बढीको मृत्यु भएको छ । अरु देशको तुलानामा भारतमा कोरोना भाइरस निको हुने दर भने बढी रहेको छ । भारतमा हालसम्म ९६ लाख भन्दा बढी व्यक्तिको कोरोना मुक्त भएका छन् । तेस्रो संक्रमित देशमा रुपमा ब्राजिल रहेको छन भने ब्राजिलमा हालसम्म कोरोना भाइरसका ७२ लाख ३८ हजार भन्दा बढी व्यक्ति संक्रमित रहेका छन् भने एक लाख ८६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा ६२ लाख ४५ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् । यस्तै बेलायत, जर्मनी, फ्रान्स र यसअघि निकै विस्फोटक बनेको स्पेनमा पनि यो संक्रमणबाट हजारौँ नागरिकले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणको करिब एक वर्ष पूरा भएको यस समयमा अमेरिकामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने बृहत् अभियान थालिएको छ भने त्यहाँ कोरोनाभाइरसका कारण मृत्यु हुने तीन लाख नाघेको छ । अमेरिकामा आउँदो अप्रिल महिनासम्म १० करोड जना मानिसलाई खोप लगाउने आशा व्यक्त गरेका छन् । अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्स भएकी छिन् । कोरोना भाइरस विरुद्वको पहिलो खोप लगाएकी ती महिलाले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको बताएकी छिन् । उनको यो अभिव्यक्तिसँगै यहाँका नागरिक पनि अब यो महामारीबाट मुक्ति पाउन सकिने आशामा रहेका छन् ।

अन्य कुनै खोप लगाएजस्तै भएको र खोप सुरक्षित छ भनेर आममानिसमा आत्मविश्वास होस् भन्ने आफूले चाहेको पनि उनले बताइन् । विश्व नै यस महामारीका माझमा रहेका हुनाले सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने उनले बताएकी छिन् ।

यसै वर्षको सुरुमा कोरोनाभाइरस महामारीको पहिलो लहरको केन्द्रविन्दुमा न्यूयोर्क परेको थियो । खोप कार्यक्रम न्यूयोर्कबाट सुरु भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ट्वीट गर्दै भन्नु भएको थियो ‘पहिलो खोप दिइयो, अमेरिकालाई बधाई, विश्वलाई बधाई ।’

कोरोना भाइरसको कारण विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव परयो । अमेरिकामा वार्षिक कूल गार्हस्थ्य उत्पादन ३२.९ प्रतिशत घटेको छ । यो १९४७ पछिको सबैभन्दा कम हो । कोरोना भाइरस प्रभावित विश्वका अन्य देशहरुको अवस्था पनि यस्तै रहेको छ । तर चीनमा भने गत नोभेम्बर मात्र ७५४ अर्व अमेरिकी डलर बराबरको व्यापार बचत भएको छ ।

यसरी यो महामारीको वर्षदिनमा आइपुग्दा पनि अरु विश्वले कम भएको महसुस गरेको भए पनि युरोपमा भने यस महामारीको दोस्रो लहर आएको देखिएको छ । तर पछिल्लो समयमा खोपको आविश्कारले भने धेरैमा आशा थपेको छ ।

(अन्तर्राष्ट्रिय समाचारमा आधारित)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू