बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या
काबुल, ३० मङ्सिर– अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।
अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएका बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिए ।
आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताए ।
उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । तर अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् । हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ ।
मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् ।
गत नोभेम्बर महिनामा मात्र व्यक्ति–लक्षित आक्रमणमा झण्डै ४४ जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५