मंगलबार, ६ अक्टोबर, २०२६
07:38 | १२:२३

बोको हरामद्वारा नाइजेरियामा कम्तीमा ४३ किसानको हत्या

रासस–एएफपी नोभेम्बर २९, २०२०


माइदुगुरी ।  नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेको छ । धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा अरु छ जना घाइते भएका छन् ।

बोको हरामविरुद्धको प्रतिकार समितिमा एक सदस्यले कोशोबे गाउँमा बोको हरामका सशस्त्र लडाकूले खेतमा काम गरिरहेका किसानको घाँटी रेटेर हत्या गरेको बताए ।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त घटनाको निन्दा एवं भर्त्सना  गरेका छन् ।  उनले ’यी अमानवीय हत्याबाट सिँगै मुलुक स्तब्ध भएको छ’ भनेका छन् । 

प्रतिकार समितिका सदस्य बाबाकुडा कोलोले आफूहरुले ४३ जनाको शब फेला पारेको र अरु छ जना गम्भीर अवस्थामा भेटिएको जानकारी दिए  । उनले यस क्षेत्रमा बोको हराम समूहले बेलाबेला जघन्य आक्रमण गर्ने गरेकाले यस पटकको आक्रमण पनि उनीहरुले नै गरेको दाबी गरे  ।

खेतमा काम गर्ने मजदुरहरु उत्तरपश्चिम नाइजेरियाको सोकोतो राज्यका रहेको पाइएको छ । स्थानीयवासी इब्राहिम लिमानले कामको खोजीमा यहाँ आएका ६० जनामध्ये ४३ जनाको हत्या भएको र ६ जना गम्भीर घाइते भएको बताए  । 

अरु आठ जना हराइरहेको र उनीहरुलाई बोको हरामका लडाकूले अपहरण गरेको हुन सक्ने पनि उनले बताए  ।

गत महिना पनि बोको हरामका लडाकूहरुले माइदुगुरी नजिकै सिँचाईको काम गर्ने २२ मजदुरको विभत्स हत्या गरेको थियो  ।

आतंकवादी संगठन इस्लामिक स्टेटसँग नजिक रहेको मानिएको जिहादी समूह बोको हरामको आक्रमणबाट सन् २००९ यता कम्तीमा ३६ हजारको ज्यान गइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । 

यो हिंसा छिमेकी मुलुकहरु नाइजर, चाड र क्यामरुनसम्म फैलिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू