बुधबार, वैशाख १२, २०८१
20:01 | ००:४६

बोको हरामद्वारा नाइजेरियामा कम्तीमा ४३ किसानको हत्या

रासस–एएफपी नोभेम्बर २९, २०२०


माइदुगुरी ।  नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेको छ । धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा अरु छ जना घाइते भएका छन् ।

बोको हरामविरुद्धको प्रतिकार समितिमा एक सदस्यले कोशोबे गाउँमा बोको हरामका सशस्त्र लडाकूले खेतमा काम गरिरहेका किसानको घाँटी रेटेर हत्या गरेको बताए ।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त घटनाको निन्दा एवं भर्त्सना  गरेका छन् ।  उनले ’यी अमानवीय हत्याबाट सिँगै मुलुक स्तब्ध भएको छ’ भनेका छन् । 

प्रतिकार समितिका सदस्य बाबाकुडा कोलोले आफूहरुले ४३ जनाको शब फेला पारेको र अरु छ जना गम्भीर अवस्थामा भेटिएको जानकारी दिए  । उनले यस क्षेत्रमा बोको हराम समूहले बेलाबेला जघन्य आक्रमण गर्ने गरेकाले यस पटकको आक्रमण पनि उनीहरुले नै गरेको दाबी गरे 

खेतमा काम गर्ने मजदुरहरु उत्तरपश्चिम नाइजेरियाको सोकोतो राज्यका रहेको पाइएको छ । स्थानीयवासी इब्राहिम लिमानले कामको खोजीमा यहाँ आएका ६० जनामध्ये ४३ जनाको हत्या भएको र ६ जना गम्भीर घाइते भएको बताए   

अरु आठ जना हराइरहेको र उनीहरुलाई बोको हरामका लडाकूले अपहरण गरेको हुन सक्ने पनि उनले बताए 

गत महिना पनि बोको हरामका लडाकूहरुले माइदुगुरी नजिकै सिँचाईको काम गर्ने २२ मजदुरको विभत्स हत्या गरेको थियो 

आतंकवादी संगठन इस्लामिक स्टेटसँग नजिक रहेको मानिएको जिहादी समूह बोको हरामको आक्रमणबाट सन् २००९ यता कम्तीमा ३६ हजारको ज्यान गइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । 

यो हिंसा छिमेकी मुलुकहरु नाइजर, चाड र क्यामरुनसम्म फैलिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू