शनिबार, वैशाख ८, २०८१
09:43 | १४:२८

झापामा निर्माणाधीन भ्यूटावर देशकै सबैभन्दा उच्च लगानीको

डेढ अर्बरुपैयाँ भन्दा बढीको सरकारी लगानी

रासस नोभेम्बर २३, २०२०

दमक । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गरेका छन् । उनले दमकको निर्माणाधीन दमक दृश्यावलोकनस्तम्भ, दमक सभागृह, दमक बसपार्क तथा गौरादह र गौरीगञ्जमा मन्त्रालयअन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाको स्थलगत जानकारी लिए ।

सो क्रममा उनले दमक –३ स्थित निर्माणाधीन भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएको वडाध्यक्ष नवीन बरालले बताए । स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दमक भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यू टावर भएको विचार व्यक्त गरे ।

नगरपालिकाका अनुसार राष्ट्रिय महत्व तथा वहुवर्षीय योजनामा रहेको सो व्यावसायिक भ्यू टावरको करीब ३० प्रतिशत काम पूरा भएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सोका लागि रु ४० करोड विनियोजन गरिसकेको छ । त्यहाँ रु डेढ अर्बभन्दा बढीको सरकारी लगानी रहनेछ । भ्यू टावर निर्माणको जिम्मा चिनियाँ कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ॐसाई जेभीले लिएका छन् । भ्यू टावर निर्माणका लागि स्थानीयवासीले पाँच बिघा जग्गा निःशुल्क रुपमा उपलव्ध गराएका थिए ।

२५ तलाको पक्की संरचना र त्यसमाथि थप पाँच तलाको स्टिलको संरचना बन्ने जनाइएको छ । भ्यू टावर निर्माणपछि त्यहाँ विदेशी पर्यटकसमेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख गीता अधिकारीले बताइन् ।

मन्त्री श्रेष्ठसँगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी तथा मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारी संलग्न थिए । मन्त्री श्रेष्ठसहितको सो टोलीलाई दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनासहित स्थानीयवासीले स्वागत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू