बिहीबार, वैशाख ६, २०८१
18:19 | २३:०४

दशैं तिहारको मौका पारेर पूराना खाद्य वस्तुमा नयाँ मिति

कलङ्कीबाट झण्डै रु पाँच करोड मूल्य बराबरका खाद्य वस्तु बरामद

रासस अक्टोबर ४, २०२०

फाइल फोटो

काठमाडौं । चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि शङ्कास्पद क्षेत्रमा छापा मारेर त्यस्ता कार्यमा संलग्न केही व्यवसायीलाई पक्राउसमेत गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले आज मात्रै काठमाडौँको कलङ्कीबाट झण्डै रु पाँच करोड मूल्य बराबरका त्यस्ता खाद्य वस्तु बरामद गरिएको जानकारी दिए । मिति सकिएको खाद्य वस्तुलाई नयाँ मिति लगाएर बजार पठाउने तयारी गर्दै गर्दा भण्डारबाटै चार जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले बताए ।

उनका अनुसार विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई थलोमै पक्राउ गरेको हो । बन्दाबन्दीका समयमा नबिकेका सामानलाई मिति सच्याएर बजारमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट त्यस्ता स्टिकर, छाप र छाप लगाउने यन्त्रसमेत बरामद गरिएको छ । उनीहरुले चकलेट, बिस्कुट, आँटा, मैदा, तेल, चामल, दाललगायतमा मिति सच्याएको पाइएको छ ।

यसअघि पनि प्रहरीको सहयोगमा वाणिज्य विभागले यसैगरी केही व्यवसायीलाई पक्राउ गरेको थियो । यस्ता गतिविधि बजारमा देखिएकाले प्रहरीले निगरानी बढाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू