बुधबार, वैशाख १२, २०८१
08:20 | १३:०५

नेपालको हवाइ सुरक्षामा युरोपेली संयुक्त आयोगको सहायता

रासस अक्टोबर ३, २०२०


काठमाडौं । नेपालको हवाई सुरक्षाका क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्राविधिक सहायता उपलब्ध गराउने अभिरुचिसहित नेपाल र युरोपेली संयुक्त आयोगको १२औँ बैठक शुक्रबार अप्रत्यक्षरूपमा सम्पन्न भएको छ । पारस्परिक हितका विविध विषयमा भएको छलफलमा कोभिड–१९ को महामारीबाट नेपालसहित युरोपेली सङ्घका सदस्य राष्ट्रमा परेको प्रभावबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत अप्रिलमा सङ्घले नेपाललाई अर्थतन्त्रको पुनःउत्थान, श्रमिकको माग, नेपालीको आयमा सहायता अभिवृद्धिका निम्ति करिब रु १० अर्ब २७ करोड ५० लाखको सहायता उपलब्ध गराउन गरेको तयारीबारे पनि बैठकमा विचारविमर्श भएको थियो । अहिलेको महामारीबाट पार पाउन राष्ट्रसङ्घीय विश्व स्वास्थ्य सङ्गठनसमेतको संलग्नतामा बहुपक्षीयरूपमा सहकार्य गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।

सङ्घ र नेपालले जलवायु परिवर्तन, मानवअधिकार, बहुपक्षीयता, सम्पर्क सञ्जाल विस्तार, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण, विधिको शासन, सुशासन र मौलिक हकलगायत विषयमा छलफल गर्दै तिनको संरक्षण र प्रवद्र्धनमा प्रतिबद्धता व्यक्त गर्नाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्ने भएका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका रुपमा नेपालले क्षेत्रीय सङ्गठनका गतिविधि र प्राथमिकताबारे बैठकमा जानकारी गराएको थियो ।

बैठकको सहअध्यक्षता निमित्त परराष्ट्रसचिव भरतराज पौड्याल र एशिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू