बिहीबार, चैत १५, २०८०
15:30 | २१:१५

६५ देशका राष्ट्रगान गाउने नेपाली

सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने तयारी

रासस सेप्टेम्बर २६, २०२०

बागलुङ-कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुने थिए । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुपरयो ।

विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्किएका उनको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना थियो । कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उनको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले शुरु हुन्छ ठेगान छैन ।

बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका ४१ वर्षीय उनको सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य थियो । कोरोनाकै कारण अब यात्राको त्यो योजना र लक्ष्य पछि धकेलिने निश्चित छ । ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित उनी विश्वयात्रामा थिए ।

“स्थिति प्रतिकूल हुँदा पनि मैले कुनै तनाव लिइनँ, यो समयको मैले राम्रो सदुपयोग गरेँ”, उनले भने, “अहिले म ६५ देशका राष्ट्रगान गाउन सक्ने भएँ, आउँदो डेढ-दुई वर्षभित्र १९४ देशकै राष्ट्रगान गाउँछु ।”

नेपालीले अहिले पूर्वी युरोपेली देश अलबानियाको राष्ट्रगान सिकिरहनुभएको छ । बन्दाबन्दी र निषेधाज्ञाको समय सिर्जना र साधनामा बिताएको उनले सुनाए । यसबीचमा नेपालीले बागलुङ र म्याग्दीका कैँयन नयाँ ठाउँको घुमफिरसमेत गरे । यात्राका क्रममा नेपालीले नै पहिलोपटक पहिचान गरेको बागलुङ नगरपालिका–७ र ६ को सीमास्थित ‘बुद्ध हिल’ अहिले पर्यटकीय आकर्षणका रुपमा चिनिन थालेको छ ।

भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रगान गाउँदै विश्वयात्रामा हिँडेको नेपालीले बताए । “सानैदेखि केही न केही नयाँ काम गर्ने हुटहुटी चल्थ्यो, त्यसकै उपज हो यो विश्वयात्रा पनि”, उनी भन्छन् । ‘विश्वयात्रा’को समापन सगरमाथा आधार शिविरमा गर्ने नेपालीको सपना छ । हालसम्म उनले भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्ड भ्रमण गरिसकेका छन् । “पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट शुरु गरेँ, प्रवासी नेपालीहरुसँगको समन्वयमा युरोप पुगेँ”, उनले भने ।

उनले आइफिल टावरमा पुगी फ्रान्सको राष्ट्रगान गाएको स्मरण गरे । बेल्जियम, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको नेपालीले जनाए । “जुन देश पुग्छु पहिले नेपालको राष्ट्रगान गाउँछु अनि सम्बन्धित देशको”, उनले भने । नेपालीले भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म यात्रा गरेका थिए । “भारतमा झण्डै चार महिना बिताएँ, नेपाली समुदाय रहेका धेरै ठाउँमा औपचारिक-अनौपचारिक कार्यक्रम भए”, उनले भने, “एकै ठाउँमा चार-पाँच वटासम्म राष्ट्रगान गाएँ ।”

बुद्ध र सगरमाथाको देशका रुपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध भएको नेपालीले सुनाए । चाँडै स्थिति ठिकठाक भएर आफ्नो विश्वयात्रा फेरि शुरु हुनेमा उनी आशावादी छन् । विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नलिइ आफ्नै खर्चमा हिँडेको उनको भनाइ छ ।

“विस्तारै सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔँ”, नेपालीले भने । उनले ‘गुगल’, ‘युट्युव’ जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोज्छन् । आवश्यक पर्दा दूतावासबाट समेत सहयोग लिने गरेको उनको भनाइ छ । “१९४ देशकै राष्ट्रगान र तिनका ट्र्याक सङ्कलन गरिसकेको छु”, नेपालीले भने ।

संसारका विभिन्न भाषामा बनेका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण भएको उनको अनुभव छ । “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउने सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भने । उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन् ।

यसैबीच, विश्व पर्यटन दिवसको सन्दर्भमा यही असोज ११ गते गायक नेपालीले एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउने कार्यक्रम तय गरिएको छ । कोरोना सङ्कटका बेला विश्व एकता र भातृत्वको सन्देश दिने उद्देश्यले सो कार्यक्रम राखिएको आयोजक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए ।

नेपालीले पहिलोपटक एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउन लागेका हुन् । यसअघि गत फागुनमा गलकोट नगरपालिका–५ टेउमामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा उनले नेपालसहित ११ देशका राष्ट्रगान गाएका थिए ।

नेपालीले जापान, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाउँदा कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारहरुले आफ्नो राष्ट्रगानको सम्मान गरेका थिए ।

झण्डै २५ वर्ष नेपाली गीत, सङ्गीतमा बिताएका नेपालीका ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भीरको टुनी’लगायत गीत सार्वजनिक छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू