बिहीबार, चैत १५, २०८०
09:36 | १५:२१

नेपालमा दैनिक करिब १८ जनाले गर्छन् आत्महत्या

आत्महत्या रोकथाम दिवस

रासस सेप्टेम्बर १०, २०२०

काठमाडौँ, २५ भदौ–आज ‘विश्व आत्महत्या रोकथाम  दिवस’  नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य  सङ्गठनले “आत्महत्या रोकथाममा सबैको  सहकार्य” भन्ने मूल नारा तय गरेको छ । 

नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित गैरसरकारी संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइरहेका छन् । कोरोना भाइरसका कारण मन्त्रालयले भर्चुअल माध्यमबाट जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । 

आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा धेरै पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडाबाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोजेको पाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग आठ लाख मानिस वा हरेक ४० सेकेण्डमा विश्वमा कतै कुनै एक मानिसको आत्महत्याको कारण ज्यान गइरहेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसको समयमा २० देखि ३० प्रतिशत बढी आत्महत्या हुने गरेको बताए । उनले मन्त्रालयले आत्महत्या रोकथाम गर्नका लागि केही नीति ल्याएर लागू गरेकोसमेत बताए । उनले कोभिड–१९ सङ्क्रमणको अवस्थामा साथीभाइसँग कुराकानी र छलफल गर्ने वातावरण बनाउनसमेत आग्रह गरे । 

नेपाल प्रहरीको आर्थिक वर्ष २०६१-०६२ देखि २०७१-०७२ सम्म गरी १० वर्षको तथ्याङ्क हेर्दा २९ हजार ९०५ जनाले आत्महत्या गरेको पाइएको छ । २०७५-०७६ मा पाँच हजार ७५४ जना र २०७६-०७७ मा ६ हजार २७९ व्यक्तिले आत्महत्या गरेको तथ्याङ्क छ ।

नेपालमा एक दिनमा करिब १६ देखि १८ जना मानिसको मृत्यु आत्महत्याको कारणले भएको छ । गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले आत्महत्या रोक्नका लागि साताव्यापी जनचेतनामूलक कार्यक्रम गरिएको बताए । मङ्गलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आत्महत्या रोक्नका लागि के गर्न सकिन्छ भनेर मनोचिकित्सकसँग छलफलसमेत गरेका थिए । 

यस्तै महाशाखाले आत्महत्या रोकथामका लागि नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखासमेत गठन गरेको छ । उक्त शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले कोभिड–१९ का कारण भौतिकरूपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए ।

उनले आत्महत्याबाट बच्न र आत्महत्याको सोच आउन कम गराउने बारेमा जनचेतना जगाइरहेको जानकारी दिए । उनले आजैदेखि पाटन मानसिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइनसमेत सञ्चालन गर्न थालिएको जानकारी दिए । 

पछिल्लो समय विश्वमै फैलिएको कोभिड–१९ भाइरसका कारण आफूलगायत परिवारका सदस्यमा सङ्क्रमित हुने र  यसका कारण आफूलगायत परिवारका सदस्य पनि मर्नसक्ने  वा अरू खालका स्वास्थ्य समस्यामा जटिलता आउनेलगायतका भय त्रासले मानिसमा मानसिक स्वास्थ्य समस्या वृद्धि भएको पाइन्छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सरोजप्रसाद ओझाले आत्महत्या रोकथामका लागि सरकारले नीति ल्याउनुपर्ने बताए । उनले आत्महत्याका लागि प्रयोग हुने किटनाशक औषधि, डोरी र मादकपदार्थ सजिलै विक्रीवितरण गर्नमा नियन्त्रण गर्नुपर्ने धारणा समेत राखे । 

कोभिड–१९ का कारण रोजगारीमा आएको कटौती, व्यापार व्यवसायमा आएको मन्दी, शैक्षिक क्रियाकलापमा अन्योललगायत कारणले मानिसमा नकारात्मक सोचाइको विकास हुने गरेको पाइन्छ । 

विभिन्न अनुसन्धानले विश्वमा महामारीका कारण उत्पन्न आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावका कारण रोजगारमा कटौती आई थुप्रै बेरोजगारीको अवस्था हुने र त्यसले आगामी दिन मानसिक स्वास्थ्यका निम्ति त्यति सहज नहुने जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू