बिहीबार, वैशाख १३, २०८१
14:54 | १९:३९

काठमाडौँ महानगरपालिकाले बढायो कोरोना परीक्षणको दायरा

रासस सेप्टेम्बर ४, २०२०

फोटो न्यूज ट्वेन्टी फोर

काठमाडौँ–हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ ।  

अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ । आज वडा ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ । 

केही दिनअघि काठमाडौँ उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि कामपाले हरेक दिन सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षणलाई तीव्र बनाएको छ । 

अहिलेसम्ममा वडा ३, ६, ८, २१, २६, २९ र २१ मा बिरामीको सम्पर्कमा रहेकाको परीक्षण गरिसकेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । 

उनका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै पोजेटिभ देखिने गरेकामा अहिले भने ५० प्रतिशतमा सङ्क्रमण देखिन थालेको छ । “कामपाको भित्रिक्षेत्रमा मानिसको अत्यधिक बसोबास छ, त्यहाँ सङ्क्रमण फैलिएको हुनसक्छ । अब त्यस ठाउँको परीक्षण गरिन्छ”, प्रमुख कुँवरले भने । 

महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र सङ्क्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू