बुधबार, वैशाख १२, २०८१
09:44 | १४:२९

लिदी पहिरामा मृतक सङ्ख्या १३, बेपत्ता २६ को खोजी जारी

रासस अगस्ट १५, २०२०


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पहिरामा बेपत्ता २६ जनाको शनिबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको बताइएको छ । मृतक ११ जनाको आज सामूहिक रुपमा दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

मुख्यमन्त्री पौडेलद्वारा पहिरोस्थलको अवलोकन
लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पुगी घटनास्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो ।

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायी रुपमा नजीकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल सो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री दुलालले जानकारी दिए ।

त्यस्तै दीर्घकालीन रुपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उनले बताए । वाग्मती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा प्रदेश सरकारले नै पूरै घर निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू