आइतबार, १ नोभेम्बर, २०२६
18:48 | ००:३३

सौराहामा होटल खुले, ग्राहक आएनन्

रासस अगस्ट ८, २०२०

चितवन  । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् ।  

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन । 

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन  । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए  ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने, ‘होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।’

सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए  । घिमिरेले थपे, ‘हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ । बास बस्न ग्राहक आउँछन् भन्ने थियो, त्यो पनि भएन ।’ आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआए होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए ।

होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताउँछन् । लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निराश भएको उनको भनाइ छ । शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनले बताए ।

सौराहामा १०० हाराहारी रेष्टुराँ छन् । तीमध्ये ५६ रेवानका सदस्य हुन् । आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको सङ्ख्या ११० छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत  छन् ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल यही साउन १५ गतेदेखि सञ्चालनमा आएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू