बिहीबार, वैशाख १३, २०८१
04:55 | ०९:४०

माइती नेपाललाई ‘श्रीपति समाजसेवा’ पुरस्कार

रासस जुलाइ १२, २०२०


कास्की । माइती नेपाल काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार २०७७’ बाट पुरस्कृत गरिने भएको छ ।

पोखराको श्रीपति कोइराला गुठीले शनिबार एक कार्यक्रममा पुरस्कार घोषणा गर्दै मानव बेचबिखन, यौन दुराचार र घरेलु हिंसामा परेका महिलाको उद्धार, सहयोग र आश्रयको क्षेत्रमा क्रियाशील सो संस्थालाई पहिलोपटक रु दुई लाख २२ हजार २२२ धनराशी रहेको सो पुरस्कारबाट पुरस्कृत गरिने गुठीका अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए ।

विसं २०७७ देखि अविछिन्न रूपमा वर्षेनी श्रीपति कोइराला जयन्तीका अवसरमा असार २७ गते पुरस्कार प्रदान गर्ने योजना रहे पनि यस वर्ष कोभिड–१९ महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको र गुठीको आगामी वार्षिक साधारणसभामा सो पुरस्कार अर्पण गरिने जनाइएको छ ।

नेपालभर मानवीय एवं स्वयमसेवी भावनाबाट अभिप्रेरित भई समाजमा मानवीय विपद्मा उद्धार र राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थामध्येबाट पुरस्कार छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।

विसं १८६४ असार २७ गते पोखरा–४ गैह्रपाटनमा जन्मिएका श्रीपतिले विसं १८९० मा पोखराको महेन्द्रपुल र विसं १८९९ मा पर्वतको काली नदी किनार मडीकुवामा जग्गा खरिद गरी गुठी स्थापना गरेका थिए । उनीबाट स्थापित दुवै गुठीमार्फत उनका सन्तानले निरन्तर समाजसेवाका गतिविधि सञ्चालन गर्दै आएका छन् । विसं १९२६ मा श्रीपतिको निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू