शनिबार, वैशाख ८, २०८१
10:52 | १५:३७

बेलायतमा कोरोनाबाट १० दिनभित्रै बिते नेपाली दम्पति

नेपाली लिङ्क जुन १६, २०२०

लण्डन । कोरोना संक्रमणका कारण दश दिनको अन्तरालमा बेलायतमा एक नेपाली दम्पतिले ज्यान गुमाएका छन् ।

बेलायतको क्याम्बर्ली बस्ने पर्वत घर भएका पूर्व गोर्खा दुर्गाबहादुर गुरुङ र उनकी पत्नी देउमाया गुरुङको गत महिना १० दिनको अघिपछि निधन भएको हो ।

पर्वत वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले नेपाली लिंकलाई दिएको जानकारी अनुसार ७६ वर्षीया पत्नी देउमायाको गत मे १३ तारिखका दिन निधन भएको थियो । उनको निधन भएको ठीक १० दिनपछि मे २३ का दिन पति दुर्गाबहादुरको पनि निधन भएको हो । उनीहरु दुवै जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

पैयुं खोला तमु समाज यूकेका अध्यक्ष ले. रि कर्णबहादुर गुरुङका अनुसार मुटुको रोगी पत्नी देउमायालाई मे १३ को दिउँसो घरमै बसिरहेका बेला ह्दयघात भएर निधन भएको थियो । पोस्टमार्टमका क्रममा उनमा कोरोना पुष्टि भएको थियो ।

पत्नीको निधन भएको केहि दिनपछि दुर्गाबहादुरको स्वास्थ्यमा पनि समस्या देखिएको थियो । केहि दिन घरमै आराम गरेर बसेका उनलाई थप गाह्रो भएपछि मे २२ को राती फर्मली पार्क अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा अर्को दिन बिहान उनको पनि मृत्यु भएको थियो । दुर्गाबहादुरमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाका भोर्ले पुर्ख्यौली भएका गुरुङ परिवारको पछिल्लो समय रुपन्देहीमा बसोबास थियो । ६ गोर्खा राइफल्समा १२ वर्ष सेवा गरेका मृतक दुर्गाबहादुर सन् १९७० मा रिटायर्ड भएका थिए । स्वर्गीय दम्पति बेलायतमा बस्दै आएपनि छोराछोरीहरु नेपालमै छन् । उनीहरुका कान्छा छोरा र एक छोरी नेपालमा छन् भने जेठा छोराको मृत्यु भइसकेको छ ।

मृतक दम्पतिको सोमबार एकसाथ अन्त्येष्टि समेत गरिएको छ । क्याम्बर्ली नेपाली समाजका अध्यक्ष क्याप्टेन देव घलेको संयोजनमा अल्डरसटमा अन्त्येष्टि गरिएको हो ।

परिवारलाई आर्थिक सहयोग

मृतक गुरुङ दम्पतिको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

बेलायतमै रहेका मृतकका भाञ्जा मीन गुरुङमार्फत पर्वत वेल्फेयर सोसाइटी यूकेले १२ सय ७२ पाउण्ड सहयोग उपलब्ध गराएको सोसाइटीका कोषाध्यक्ष सुरज पौडेलले जानकारी गराए ।

सहयोग रकमबाट मृतक दम्पतिका बेलायतमा रहेका सरसामान नेपाल पठाइने योजना छ । सहयोगका लागि सोसाइटीकै सदस्य अप्सरा लामिछानेको संयोजनमा रकम संकलन गरिएको थियो ।

यसैबीच, दुई दिनअघि मात्रै कुश्मा नगरपालिकाको दुर्लुङमा पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको घटनाका पीडित परिवारलाई सहयोग गर्न पनि सोसाइटीले आर्थिक सहयोग संकलन शुरु गरेको छ । सोसाइटीका अध्यक्ष नेत्र आलेले पीडितहरुको सहयोगका लागि सक्दो योगदान गर्न बेलायतवासी पर्वतेली तथा सबै नेपालीलाई अपील गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू