शुक्रबार, वैशाख ७, २०८१
02:02 | ०६:४७

बेलायतका एक दर्जन संस्थाले गरे रुकुम घटनाको निन्दा

दोषीलाई कडा कारवाहीको माग

कृष्णप्रसाद शर्मा जुन ५, २०२०

नवराज विकसहितका ६ जना युवाको ज्यान गएको रुकुम घटनाको बेलायतस्थित झण्डै एक दर्जन संस्थाले निन्दा गरेका छन् ।

लण्डन । बेलायतस्थित झन्डै एक दर्जन नेपाली संस्थाहरुले रुकुम पश्चिममा दलित समुदायमाथि भएको हिंसात्मक घटनाको निन्दा गर्दै दोषीहरूलाई कडा कारवाही गर्न माग गरेका छन्।

संयुक्त रुपमा जारी गरेको एक विज्ञप्तिमा ती संस्थाहरुले गत मे २३ मा पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय विवाहसम्बन्धी विषयलाई लिएर सिंगो गाउँ मिलेर २१ वर्षे नवराज विक र उनीसंगै गएका पाँच जना दलित तथा गैरदलित युवालाई लखेटी लखेटी निर्मम यातना दिइ हत्या गरिएको भन्दै बेलायतवासी नेपाली स्तब्ध भएको जनाएका छन् ।

‘एक्काइसौं शताव्दीमा पनि यस्तो बर्बर जातीय हिंसा भड्किनुले विश्वसामु नेपाली समाज, संस्कृति र सभ्यताकै बेइज्जती भएको तर्फ ध्यान आकृष्ट गर्न चाहन्छौं। विगतका धेरै जातीय छुवाछुत र यातनाका जस्तै यो जघन्य घटनामा संलग्नहरू पनि राज्यले जोगाउने आशंकामा देशभरका दलित समुदाय आन्दोलित भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘एक प्रकारले मुलुककै प्रतिष्ठासंग जोडिएको घटना हुनाले पनि यसको निस्पक्ष छानबिन र अनुसन्धान गरी यथासक्य छिटो अपराधीहरूलाई कानून बमोजिम दण्डसजाय गराउन हामी नेपाल सरकार र अन्य सम्बन्धित निकायहरूलाई विशेष माग राख्न चाहन्छौं ।’

नेपाल सरकारलाई देशको संविधान र कानुन तथा यसले अनुमोदन गरेका अन्तरराष्ट्रिय मानवअधिकार संयन्त्र (विशेषत ’सवै प्रकारका जातीय भेदभाव विरुद्ध’ को अनुबन्ध) लाई सम्मान गर्दै विभेदका कारण उच्च जोखिममा रहेका दलित समुदायको संरक्षण र विकासको निम्ति अविलम्ब विशेष पहल गर्न जोडदार माग विज्ञप्तिमा गरिएको छ ।

संयुक्त विज्ञप्ति प्रकाशित गर्नेमा दलित आत्मरक्षा अभियानका डा मित्र परियार, नेपालको लागि अन्तरराष्ट्रिय ऐक्यबद्धताका डा. कृष्ण उपाध्याय, नेपाली वेलफेयर सोसाइटीका धन बहादुर सार्की, नेप्लिज अप्रेस्ड सोसाइटी (नोप्स) यूकेका डिलु नेपाली, नेपाल पत्रकार महासंघ बेलायतका दिनेश परियार, विश्वकर्मा कल्याण समाजका चन्द्र बहादुर सुनार, ‘विश्वकर्मा हेल्पिङ ह्याण्ड वर्ल्डवाइड’ का श्रीकृष्ण गहतराज, रामेछाप समाज बेलायतका बुद्ध बराइली, सृजनशील नेपाली समाज, बेलायतका शेर सुनार र भक्तबहादुर दर्जी, सयपत्री नेपाली समाज, बेलायतका दिलिप मोहोरा र संगम नेपाल समाजका बुद्धिमान परियार छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू