बिहीबार, वैशाख १३, २०८१
09:22 | १४:०७

वरिष्ठ गीतकार थापाको निधन

रासस मे २८, २०२०

काठमाडौँ । वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ ।

ढाडको नशासम्बन्धी समस्याबाट पीडित उनको बिहीबार मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय थापा ‘ठट्टैमा यो बैंस जान लाग्यो ’, ‘घुम्तीमा नआउ है’ , ‘एक मुठी चामल पाऊँ न हजुर’, ‘हाँस्छौँ गाउँछौं वसन्त ल्याउँछौँ प्रेमको अनुरोधमा’, ‘सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी’, ‘बिहानीका तारा हामी सर्वहारा’, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ’ लगायत सयौँ लोकप्रिय गीतका रचनाकार हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एक शोक सन्देश जारी गर्दै थापाको निधनमा दुख व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत-संगीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताए । स्वर्गीय थापाका श्रीमती र दुई छोरा छन् । नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

गीतकार राजेन्द्र थापाले नेपाली आधुनिक नेपाली गीतको खुट्टामध्येका रत्नशमशेर र किरण खरेल रहेकामा एक खुट्टा अन्त्य भएको प्रतिक्रिया दिए । विसं २०१८ मा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपाल र रत्नशमशेर भारतको कोलकत्तामा गएर ‘स्वर्गकी रानी’ एकैपटक ग्रामोफोन चक्कामा रेकर्डिङ गराएको उनले स्मरण गरे ।

त्यसपछि ती गीतहरु रेडियो नेपालमा प्रसारित हुन थालेका थिए । रत्नशमशेरका गीतमा नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, तारादेवी, शिवशंकर, प्रेमध्वज प्रधान आदि लोकप्रिय संगीतकार गायकले सहकार्य गरेका थिए । उनी काठमाडौँ कमलपोखरीमा बस्दै आएका थिए । कोरोना भाइरस परीक्षण गरेपछि उनको अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू