बिहीबार, वैशाख ६, २०८१
11:25 | १६:१०

विदेशका नेपालीको सहयोगबारे सरकारलाई विवेकशील नेपालीका ८ सुझाव

नेपाली लिङ्क मे ९, २०२०

काठमाडौं । विवेकशील नेपाली दलले कोरोनाको कहरबीच विदेशमा रहेका नेपालीबारे सरकारको प्रभावकारी गतिविधि नदेखिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएको छ ।

विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले विदेशमा रहेका नेपालीबारेमा सरकार गम्भीर नदेखिएको भन्दै सरकारलाई अभिभावकत्व ग्रहण गर्न अपिल गरेका थिए ।

सरकारलाई आफूहरूले ‘वर्क फर नेपाल’ को तथ्यांक, आफ्नो विदेशमा रहेको संगठन अनि विवेकशील नेपालीसँग भएको स्रोत, साधन उपलब्ध गराएर सहयोग गर्न तयार रहेको समेत उनले बताए ।

विवेकशील नेपालीले विभिन्न देशमा रहेका आफ्नो संगठनहरू मार्फत नेपालीहरूलाई सहयोग गर्ने, चिकित्सक अनि मनोवैज्ञानिक परामर्श दिने काम समेत विदेशमै गर्दै आइरहेको छ ।

साथै, उक्त दलले विदेशबाट फर्केका नेपालीलाई उनीहरूको योग्यता अनि क्षमता अनुसार स्वदेशमै व्यवस्थापन गर्न वेब पोर्टल www.workf4nepal.com समेत सञ्चालन गर्दै आइरहेको छ ।

विवेकशील नेपाली दलले सरकारलाई दिएका ८ बुँदे सुझाव-

१. विदेशमा नेपाली दूतावासहरुले सो देशको सरकारसँग समन्वय गरी ‘कोभिड १९’ को महामारीबाट संक्रमित नागरिकहरुको तथ्यांक लिई प्रभावकारी उपचारको लागि पहल गर्ने र उक्त देशमा कार्यरत नेपाली नागरिकहरुसँग समन्वय तथा सहकार्य गरी कोभिड १९ को महामारीबाट संक्रमित भए पनि विविध कारणले आवश्यक उपचार पाउन नसकेका आम नेपाली नागरिकहरुको उपचारका लागि पहल गर्ने साथै दूतावासले अनलाइन मार्फत मनोपरामर्श सेवा प्रदान गरी नागरिकहरुलाई अवसाद हुनबाट बचाउने ।

२. ‘कोभिड १९’ को महामारी रोकथामको लागि गरिएका बन्दाबन्दी लागु भएको कारणले धेरै जसो कम्पनीहरु बन्द हुन गई आर्थिक रूपमा धरासायी बनी मजदुरलाई काम तथा पारिश्रमिक समेत दिन नसकेको कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली नागरिकहरु खान बस्नका लागि समेत अप्ठेरो परेको समस्याहरु विभिन्न देशबाट दिनहुँ आउने गरेकोले सम्बन्धित देशका दूतावासहरुले रोजगारदाता कम्पनीहरुसँग समन्वय गरी बन्दाबन्दी नखुलुन्जेलसम्म कम्तीमा खान बस्नको लागि व्यवस्था गर्नको लागि पहल गरिदिने । खान बस्नको लागि रोजगारदाता कम्पनीले व्यवस्था गर्न नसकेको खण्डमा सम्बन्धित देशका राजदूतावासले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा भएको करिब ६ अर्ब रुपैयाँलाई प्रयोग गर्ने गरी राहतको व्यवस्था गर्ने ।

३. ‘कोभिड १९’ को महामारीको कारणले बढ्न सक्ने राजदूतावासको कामको चापलाई व्यवस्थापन गर्नको लागि उक्त देशमा रहेका कामदारहरुको संख्यालाई मध्यनजर गरी दूतावासमा थप कर्मचारीको व्यवस्था गर्ने । हाल नेपालमा रहेका तर बन्दाबन्दीको कारण नेपालका विभिन्न कार्यालय जस्तै परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, श्रम विभाग, राहदानी विभागमा धेरै काम नरहेको हुँदा त्यहाँ कार्यरत कर्मचारीहरुलाई विभिन्न देशको राजदूतावासमा काजमा खटाउने तथा छोटो समयको लागि करार कर्मचारी भर्ती गरी आवश्यकता अनुरूपको कर्मचारी नरहेको देशमा तत्कालै पठाई दूतावासको काम कारवाहीलाई प्रभावकारी बनाउने ।

४. ‘कोभिड १९’ को महामारीको कारणले रोजगारी गुमाई विदेशमा बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था गरी क्वारेन्टिनमा राख्ने प्रबन्ध मिलाउने र कम्तीमा ६ महिनाको लागि जीविकोपार्जन भत्ता वैदेशिक रोजगारी बिमा कम्पनी मार्फत भुक्तानी दिलाउने ।

५. विदेशबाट छुट्टीमा नेपाल आउन चाहने नागरिकहरुलाई उनीहरुकै खर्चमा ‘क्वारेन्टिन’ मा बस्ने प्रबन्ध मिलाई नेपाल ल्याउने व्यवस्था गर्ने । नागरिकहरुलाई ‘क्वारेन्टिन’ मा राख्न सहुलियत दरका होटल, लजहरुलाई प्रयोग गर्ने गरी व्यवस्था मिलाउने ।

६. स्वदेशमा नै रोजगारीको सिर्जना गर्ने कार्यक्रमहरु मार्फत रोजगारी सिर्जना गरी रोजगारी प्रदान गर्ने साथै उद्यमशीलताको परामर्श, ऋणमा उपलब्धता, करमा छुट लगायतका सुविधा उपलब्ध गराई नयाँ व्यवसाय खोल्न प्रोत्साहित गरी स्वरोजगार बनाउने । सरकारी तथा निजी क्षेत्रका उद्योगधन्दाहरुमा लगानी वृद्धि गराउने, विशेष संरक्षण, प्रबर्धन गर्ने र उत्पादन क्षमता वृद्धि गर्दै थप रोजगारीको सिर्जना गर्न पहल गर्ने ।

७. वैदेशिक रोजगारीको शिलशिलामा ‘कोभिड १९’ बाट संक्रमित भएर विदेशमै ज्यान गुमाउनेहरुको हकमा नेपाल सरकार वैदेशिक रोजगार कल्याणकारी कोषबाट र वैदेशिक रोजगार बिमा बापत प्राप्त हुने सम्पूर्ण रकमहरु यथाशीघ्र परिवारको नाममा भुक्तानी दिने व्यवस्था गर्ने । उहाँहरुको सन्तानको शिक्षादीक्षाको लागि छात्रवृत्तिको व्यवस्था गर्ने ।

८. विदेशमा रहेका नेपालीको गम्भीर अवस्था, तथ्यांक, राहत, देश फर्कने चाँजोपाँजो यथाशक्य छिटो बन्दोबस्त गर्न, व्यवस्थापन ढिलाइ नगर्न र अभिभावकत्व लिन आह्वान गर्दछौँ र त्यो नै राजधर्म हो भन्ने स्मरण गराउन चाहन्छौं ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू