सोमबार, १५ सेप्टेम्बर, २०२५
17:57 | २२:४२

ट्रम्पको राजकीय भ्रमणका लागि बेलायतमा तयारी तीव्र

रासस सेप्टेम्बर १५, २०२५

लन्डन । विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडाहरू अभ्यास गर्दैछन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् ।

लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदानमा राजा चार्ल्स तृतीयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा भव्य स्वागत गर्नेछन् ।

त्यसका लागि सयौँ मानिसहरूले काम गरिरहेका छन् । यो भ्रमण चम्किलो मुकुट, ब्रास ब्यान्ड र दुई सय वर्ष पुरानो चाँदीमा पस्किने भोजसहित बेलायतले विशेष पाहुनालाई दिने बेलायतमा अन्य कतै नभएको भव्यता र समारोहको प्रदर्शन हो ।

तर यसको उद्देश्य स्पष्ट छ—ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिका कारण कमजोर भएको व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउनु । शाही इतिहासकार रोबर्ट लेसी भन्छन्, ‘यदि ट्रम्पले विन्डसर क्यासलमा बस्ने मौका पाउनुभएन भने उहाँ आउनुहुन्न, बरु स्वर्गीय महारानीलाई श्रद्धाञ्जलि दिन र राजालाई भेट्न चाहनुहुन्छ ।’

सफ्ट पावरको प्रयोग

राजनीतिक शक्ति त्यागेर औपचारिक भूमिकामा सीमित भए पनि शाही परिवार ‘सफ्ट पावर’ को शक्तिशाली साधन बनेको छ । राजकीय भ्रमण शाही कूटनीतिको सर्वोच्च औजार हो, जसका लागि विश्व नेताहरू प्रतिस्पर्धा गर्छन् ।

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले सात दशक लामो शासनमा तानाशाहदेखि नेल्सन मन्डेलासम्मलाई आतिथ्य दिएकी थिइन् । पछिल्ला चार अमेरिकी राष्ट्रपति पनि शाही आतिथ्यको हिस्सा भएका छन् ।

न्युक्यासल विश्वविद्यालयका विज्ञ मार्टिन फारका अनुसार यस्ता आतिथ्यले मित्रताको भावना जगाउँछ, जसले ‘अनुरोधलाई सजिलै स्वीकार गर्ने वातावरण’ बनाउँछ । यस पटक बेलायत अनुकूल व्यापार सर्त र युक्रेनबारे सहयोग खोजिरहेको छ ।

त्यसैले प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पाँच सातापछि वासिङ्टन पुगेर राजकीय निमन्त्रणा दिएका थिए । विश्व नेतामध्ये पहिलो पटक ट्रम्पले दोस्रो राजकीय भ्रमण पाएका हुन् र यसपटक निमन्त्रणा राजाको व्यक्तिगत पत्रमार्फत आएको थियो ।

उद्देश्यसहित आतिथ्य सत्कार

मङ्गलबार राति ट्रम्प र मेलानिया बेलायत पुग्नेछन् । बुधबार राजा चार्ल्स र रानी क्यामिलाले उनीहरूलाई विन्डसर एस्टेटमा स्वागत गर्नेछन् । गार्ड अफ अनर, सैन्य ब्यान्ड र दुवै देशका राष्ट्रिय गान बजाइनेछन् ।
सैन्य अभ्यास महिनौँअगाडि सुरु भइसकेको छ ।

सयौँ सैनिक, माउन्टेड गार्ड, फुट गार्ड र सङ्गीतकारले कार्यक्रमलाई भव्य बनाउनेछन् । कार्यक्रमपछि ट्रम्पले बेलायत–अमेरिकाको साझा इतिहास झल्काउने प्रदर्शनी हेर्नेछन्, जसमा म्याग्ना कार्टाजस्ता ऐतिहासिक कागजात देखाइने सम्भावना छ ।

मुख्य आकर्षण भने बुधबार रातिको राजकीय भोज हुनेछ । पुरुषले सेतो टाई र पुच्छर कोट लगाउनेछन्, महिलाले गाउन र गहना । प्राचीन क्यान्डेलाब्राको उज्यालोमा मुकुटहरू चम्किनेछन् ।

विशाल भोज र कूटनीतिक सन्देश

राजा र रानीले पाहुनालाई वाटरलू टेबलमा भोज दिनेछन् । टेबलको लम्बाइ फुटबल मैदानको आधा बराबर छ र एक सय ६० पाहुनाका लागि ठाउँ छ । यो टेबल सजाउन पाँच दिन लाग्छ र चार हजारभन्दा बढी चाँदी–सुनका भाँडाकुँडाले सजाइनेछ ।

शाही जीवनीकार ह्युगो विकर्स भन्छन्– ‘चाँदी र समारोहले मेलमिलापको बाटो खोल्छ, जुन एलिजाबेथको विश्वास थियो ।’

उनका अनुसार प्रधानमन्त्री स्टार्मरले राजाको माध्यमबाट ट्रम्पलाई आकर्षित गर्नेछन् र यसैमार्फत युक्रेनलगायत संवेदनशील मुद्दामा सकारात्मक छलफल सम्भव हुनेछ । मुख्य छलफल बिहीबार चेकर्समा हुनेछ, जहाँ ट्रम्प र स्टार्मरबीच भेट हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू