बेलायतको कार्डिफमा श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलन

कार्डिफ– भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिवन्धविरुद्ध सडकमा उत्रिएका युवा जेनजीको नेतृत्वमा हालै भएको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा बेलायतको कार्डिफमा बसोबास गर्ने नेपाली समुदायले दीप प्रज्वलन गरेको छ।
सामूहिक सहभागितामा सम्पन्न कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै मौन धारण, प्रार्थना तथा ऐक्यबद्धताको सन्देश दिए ।
उनीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहादत प्राप्त व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सत्य, न्याय र पारदर्शिताको पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गरेका छन्।
जेनजीको नेतृत्वमा भइरहेको आन्दोलनले नेपालभर जनआक्रोश सिर्जना गरिरहेको सन्दर्भमा प्रवासमा रहेका नेपालीहरूले पनि भावनात्मक समर्थन जनाएका छन्।
वेल्सका विभिन्न नेपाली संघसंस्थाले यसअघि नै प्रेस विज्ञप्ति जारी गरी शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमनको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका थिए।
एक सहभागीले भने, “हामी टाढा छौं, तर हाम्रो मन नेपालमै छ। यो दीप प्रज्वलन हाम्रो पीडा, हाम्रो ऐक्यबद्धता र हाम्रो प्रतिबद्धताको प्रतीक हो।” कार्यक्रममा सहभागीहरूले नेपालमा न्याय, पारदर्शिता र सुधारको पक्षमा निरन्तर आवाज बुलन्द गर्ने संकल्पसमेत व्यक्त गरे।





