एनआरएनए यूकेद्वारा दूतावासमा श्रद्धाञ्जली सभा



लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नेपालमा भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिवन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी युवाहरुको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
संघले बिहीबार लन्डनस्थित नेपाली दूतावास परिसरमा दीप प्रज्वलन गर्दै मृतात्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरेको हो ।
सुरक्षाका कारण करिब तीसजनामात्र उपस्थित उक्त सभाका सहभागीले जेनजी शहीदहरुप्रति पुष्पगुच्छा अर्पण गरि एकमिनेट मौनधारण समेत गरेका थिए ।
स्मृतिसभामा राजदूत चन्द्र कुमार घिमिरेले दिवंगत जेनजी युवाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै नेपालीहरु जस्तोसुकै कठिन अवस्थामा पनि भावनात्मक रुपमा एक भएर उभिने गरेको उल्लेख गरे ।
राजदूत घिमिरेले बेलायतमा रहेका नेपालीलाई अब इमान्दारिताका साथ नेपालको मुहार फेर्न योगदान गर्न आग्रह गरे । प्रदर्शनमा सदाहत प्राप्त गरेका युवाहरुको सपनाको साकार पार्न नेपाल र नेपालीको मुहार फेरे त्यो सच्चा श्रद्धान्जली हुने पनि उनले बताए ।
संघका अध्यक्ष प्रेम गाहा मगरले युवामाथि प्रहरी दमन र हत्याको विरोध गर्दै श्रद्धान्जली अर्पण गरे । उनले नेपालमा व्याप्त भ्रष्टाचार अन्त्य र सुशासनका लागि युवाहरुले गरेको प्रदर्शनप्रति ऐक्यवद्धता एवं कृतज्ञता समेत व्यक्त गरे ।
अध्यक्ष गाहामगरले सोही सभामा ‘सेभ द नेशन, बिल्ड द नेशन’ भन्ने अभियान सुरु गरिएको घोषणा गर्दै यस अभियानमा कुनै जातजाती, धर्म वा संस्था नभनि एक नेपाली नागरिकका हैसियतमा जोडिन विश्वभरका नेपालीसमक्ष अपिल गरे । उनले नयां नेपाल निर्माणका लागि अब फुटेर होइन जुटेर विदेशस्थित सबै नेपालीको योगदान आवश्यक रहेको पनि बताए ।
उक्त कार्यक्रम महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५