मंगलबार, १६ जुन, २०२६
12:56 | १७:४१

जेनजी प्रदर्शनमा प्रहरी दमन र हत्या: गायक दुर्गेश थापाले रद्द गरे यूके कन्सर्ट

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२५

लन्डन- सांगीतिक कार्यक्रम गर्न बेलायत आएका चर्चित गायक दुर्गेश थापाले आफ्नो सम्पूर्ण सांगीतिक यात्रा विसर्जन गर्ने निर्णय गरेका छन् । 

नेपालमा जेनजी प्रदर्शनका क्रममा युवामाथि प्रहरी दमन र हत्या भइरहंदा नैतिकताले आफूलाई रमाइलो गर्न नदिएको भन्दै उनले सम्पूर्ण कन्सर्ट अन्त्य गरेका हुन् ।

आयोजकले पनि आफ्नो निर्णयलाई सहजै स्वीकार गरेको उल्लेख गर्दै उनले आयोजकहरूप्रति सम्मान र सदा ऋणी रहने बताएका छन् । देशको अवस्था सामान्य भएपछि पुनः आउने उनको वाचा छ।

‘भगवानरूपी’ दर्शकहरूले टिकट काटेर आफूप्रति आस्था देखाएकामा आभार व्यक्त गर्दै उनले टिकटको रकम आयोजकमार्फत सबैलाई फिर्ता हुने पनि विश्वास दिलाएका छन् ।

‘एक कलाकार मात्र भएर होइन, एक नेपाली भएर मेरो आत्माले, मेरो नैतिकताले मलाई रमाइलो गर्न दिएन’- उनले सामाजिक सन्जालमा लेखेका छन्- ‘नेपालको भविष्य बोकेर हिँडेका कर्णधार हाम्रा आफ्ना दाजुभाइ, दिदीबहिनीहरू, उज्यालो भोलिको सपना बोकेर हिँडेका ती सपुतहरूकै निधारमा बन्दुकको गोली परेका खबर सुन्दा मेरो मन शून्य भयो। दशैंको टीका लगाउने त्यो निधारमा, चन्द्रमाको जस्तो उज्यालो हाँसोको बीचमा, रगतको धब्बा देख्दा लाग्यो, म माथि आकाशै खसेको छ।’

‘तर, त्यो भन्दा सयौँ गुणा गहिरो पीडा आफूलाई ति निर्दोष नेपाली युवाहरूको ज्यान गुमेकोमा रहेको उनको भनाइ छ। ‘जसले देशको लागि आफ्नो प्राण आहुति दिए, जो अझै अस्पतालमा मृत्युसँग जुधिरहेका छन्—त्यो पीडा त शब्दभन्दा परको हो’- उनले भनेका छन् ।  

‘मन भक्कानिएको छ, मुटु थाम्नै नसक्ने गरी कापिरहेको छ।

देश आज रोइरहेको छ, मातृभूमिको काख रगतले भिजिरहेको छ। यस्ता क्षणमा टाढा परदेशमा बस्नु, वास्तवमै हजारौ चोटमध्ये सबैभन्दा गहिरो चोटजस्तै लाग्छ’- उनले लेखेका छन्  

बेलायतस्थित लाइम एण्ड लेमन इन्टरटेनमेन्टको संयोजनमा सेप्टेम्बर ६ तारिख शनिबारदेखि सेप्टेम्बर १६ तारिख सोमबारभित्र बेलायतका विभिन्न आधा दर्जन स्थानमा दुर्गेशका शो तय थिए ।

दुर्गेशले पहिलो शो प्रेस्टनमा सेप्टेम्बर ६ तारिख र दोस्रो सेप्टेम्बर ८ तारिख बर्मिङहममा गरे तर १२ तारिख स्काला लन्डन किंग्स क्रस, १३ तारिख एम्पायर अल्डरसट, १५ तारिख स्कटल्यान्ड र १६ तारिख लेष्टरमा निर्धारित कन्सर्ट रद्द भएका छन् ।

सेप्टेम्बर १२ तारिख लन्डन किंग्स क्रसको स्कालामा हुने शोमा विशेष आकर्षणका रुपमा चर्चित मिडिया पर्सनालिटी सिसन बानिया र लोकप्रिय र्‍यापर नवाज अन्सारीले पनि प्रस्तुति दिंदै थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू