मंगलबार, वैशाख ११, २०८१
17:31 | २२:१६

नेताको संयन्त्र होइन, संयम जरुरी छ

धन क्षेत्री अप्रिल ११, २०२०

लेखक धन क्षेत्री

यतिबेला हाम्रो देश नेपालमा गाउँदेखि केन्द्रसम्ममै जननिर्वाचित सरकारहरु छन् । संसारका विभिन्न देशहरुको समेत अनुभवबाट सिक्दै संघीय सरकारदेखि राज्य र स्थानीय सरकारहरु कोरोना महामारीको मुकाबिलामा अहोरात्र खटिएकै छन् । जसको आभास हामी प्रवासमा रहेका नेपालीहरुलाई पनि भएको छ ।

नेपाल सरकार भन्दा पनि माथि सार्वभौम संसद छ । जसको काम नै निर्वाचित सरकारका कमीकमजोरी औंलाउने, सरकारको नीतिहरुमाथि छलफल गर्ने, आवश्यक निर्देशन दिने, ध्यानाकर्षण गर्ने आदि हो । जुन काम अहिले पनि भइरहेकै देखिन्छ ।

गृह प्रशासन ,स्वास्थ्यकर्मी, प्रहरी ,शसस्त्र प्रहरी,कर्मचारी र नागरिक युद्धमोर्चामै खटिएजसरी आफनो जीवनको समेत प्रवाह नगरी राष्ट्रका लागि जुटिरहेका छन् ।

गृहमन्त्रीको नेतृत्वमा रहेको कार्यकारी समितिले पनि प्रभावकारी रुपमा काम गरिरहेको छ । त्यसमाथि सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ‘कोभिड -१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ बनाएको छ । जुन समितिले पनि दिनरात काम गरिरहेको देखिन्छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा संसदका विपक्षी दलको नेता र मुख्यमन्त्रीहरुको समेत प्रतिनिधित्व रहने राष्ट्रिय परिषदको व्यवस्था पनि कायमै छ । यी सबै व्यवस्थाहरु देशमा आईपर्ने यस्तै विपद्का निम्ति हुन् भन्ने कुरा के हामीले बिर्सिने हो ?

नेपाल सिमित साधनश्रोत भएको देश हो । त्यसैले यो प्रकोपविरुद्धको लडाईंमा हाम्रो देशले विश्वका अरु विकसित राष्ट्रहरुकै तुलनामा आफ्ना नागरिकहरुको लागि पर्याप्त सुविधाहरु व्यवस्था गर्न नसक्ला । तर यो महामारीविरुद्ध अग्रमोर्चामा खटिएर काम गरिरहेकाहरुलाई यो विषम अवधिका लागि शतप्रतिशत भत्तालगायतका सुविधाको व्यवस्था गरेको छ । दोस्रो तहमा रहनेलाई पनि सोहिअनुसारको व्यवस्था गरिएको छ । पच्चीस लाख रुपैयाँ बराबरको बीमा पनि निश्चित गरेको छ ।

आवरणमा अहिले सत्तापक्ष र प्रतिपक्षका राजनैतिक पार्टीहरु कोरोना विरुद्धको अभियानमा हातेमालो गरिरहेको पनि देखिन्छ । तर सरकार र उसले गरिरहेका यी यावत व्यवस्थाहरु मात्र पर्याप्त हुंदैन । साथमा, नेपाली जनता पनि जिम्मेवार बन्नु आवश्यक छ । देशले विगतमा भोगेको नाकाबन्दीविरुद्ध जुध्न जुन तदारुकता देखाएका थिए, त्यस्तै प्रकृतिको तदारुकता र उच्च मनोबलको सञ्चार आवश्यक छ ।

यो महामारीको बेलामा नेताहरुको संयन्त्र निर्माण भन्दा पनि डाक्टर, नर्स ,’पिपिई’ ,’भाईरोलोजिस्ट’ र ‘एपिडेमियोलोजिस्ट’हरुको संयन्त्र बढि जरुरी छ । प्रचुर उपलब्धता र चेकजाँच अति आवश्यक छ । यहाँ नेताहरुको संयन्त्र भन्दा नेताहरुमा संयम चाहिएको छ  ।

पालो ढुक्ने बेला होइन, यो त सहयोग गर्ने बेला हो । अहिलेसम्म भइरहेका हाम्रा प्रयोगहरु पर्याप्त छैनन् । त्यसैले अब उपयुक्त व्यवस्था कसरी गर्ने भन्नेतर्फ छलफल हुनु आवश्यक छ । बरु व्यवसाय तथा नागरिकहरुलाई बैंकहरुले केहि महिना ब्याज नलिने व्यवस्था गराउने, कालाबजारिया र महंगी नियन्त्रण गर्ने जस्ता कार्यमा सबैले सहयोग गर्ने हो कि ?

संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र किन चाहियो ? राजनीति गर्न जनता बाँच्नु पर्ला नि होइन र ? उच्चस्तरीय राजनीतिक संयन्त्र हो कि गाउँदेखि केन्द्रसम्म निर्वाचित सरकारहरुविरुद्ध षड्यन्त्र हो ? महामारीको यो बेलामा पनि अरु सबै छोडेर समिति निर्माण र पद प्राप्तिकै पछि दौडिनु बेमौसमी बाजा मात्र होइन, ‘मुखमा रामराम र बगलीमा छुरा’ जस्तै हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू