शुक्रबार, वैशाख ७, २०८१
00:38 | ०५:२३

कोरोना संक्रमणबाट न्यूयोर्कमा ४७ वर्षीय थापाको निधन

नेपाली लिङ्क अप्रिल १०, २०२०

४७ वर्षका राजकुमार थापाको न्यूयोर्कको नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा निधन भएको छ

लन्डन । कोरोना संक्रमणबाट न्यूयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४७ वर्षका  राजकुमार थापाको निधन भएको छ । गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भएकामा उनको बुधबार निधन भएको हो ।

न्यूयोर्कको क्वीन्समा रहेको एल्महर्स्ट अस्पतालबाट ‘नर्थ सेन्ट्रल ब्रोक्स अस्पताल’ मा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महर्स्ट अस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टी गरेको छ । डायरेक्टरको कार्यालयका अधिकारीले थापाको मृत्यु भएको जानकारी मेरिल्याण्ड राज्यको संसदका डेलिगेट ह्यारी भण्डारीलाई आज बिहान दिएका हुन् ।

थापालाई गत मार्च १४ मा अस्पताल भर्ना गरिएको थियो । उनी हिंडेरै अस्पताल पुगेका थिए । मार्च १७ सम्म उनले परिवारका सदस्यहरु र आफन्तहरुसँग फोनमा कुरा समेत गर्दै आएका थिए । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मार्च १९ मा कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाउनका अनुमति मागेको थियो । परिवारले उक्त औषधि चलाउन अनुमति दिएका थियो ।

थापाले न्यूयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण मार्चको सुरुदेखि नै ‘उबर’ चलाउन छाडेका थिए । सुरुमा ज्वरो आएपछि उनी ‘प्राइमरी केयर’ डाक्टरकोमा गएका थिए र चारदिनपछि ‘फ्लोअप’मा बोलाएको थियो । ‘फ्लोअप’मा ‘एन्टीबायोटिक’ औषधी दिएको थियो तर एन्टीबायोटिक औषधि खाँदा झन् च्यापेपछि उनी हिंडेरै ज्याक्सनहाइटमा रहेको ‘अर्जेन्ट केयर सीटीएमडी’ मा गएका थिए ।

त्यहाँ गएर जांच गर्दा ‘अक्सिजन लेभल’ कम देखिएको र निमोनियाको संक्रमण भएको बताइएको थियो । ‘सीटीएमडी’ ले अस्पताल जान रिफर गरेपछि उनी हिडेरै एल्महर्स्ट अस्पताल गएका थिए ।

४७ वर्षका थापामा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर ‘ब्लडप्रेसर’ को औषधि खाने गरेको पारिवारिक श्रोतले बताएको छ । उनलाई कसरी संक्रमण भएको थियो भन्नेबारे केही खुलेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू