शनिबार, माघ १४, २०७९
03:25 | ०९:१०

जाडोमा हृदयाघातको उच्च जोखिम

रासस जनवरी १२, २०२३

बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल

नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन् ।

नेपालले स्वास्थ्य क्षेत्रमा निकै प्रगति गर्न सके पनि नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । उपचार सेवा र चिकित्सकहरू सहरी क्षेत्रमा नै केन्द्रित हुँदा ग्रामीण क्षेत्रका जनता आधारभूत जानकारी र अवसरबाट बञ्चित छन् । बालबालिका र युवाहरूमा बढ्दै गइरहेको अस्वस्थ आहारको सेवन, शारिरीक गतिविधिमा कमी, धुमपान, मदिरापानले भोलिको नेपाललाई अस्वस्थ बनाउने देखिन्छ । निम्न र मध्यम वर्गीय नेपालीहरूका लागि मुटुरोगको उपचार महँगो र असहज भएका कारणले यसको रोकथाम तथा नियन्त्रण नै एकमात्र विकल्प छ ।

यतिबेला चिसो मौसमका कारण मुटुको समस्या भएका बिरामीको सङ्ख्या धेरै रहेको पाइन्छ । चिसो समयमा अस्पताल वा क्लिनिकहरूमा बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने गर्दछ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोलजस्ता रोगहरूको समयमै उचित उपचार भएमा मुटुरोगको प्रकोपलाई घटाउन सकिने बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउनुहुन्छ । खासगरी चिसो याममा मुटुरोगबाट कसरी स्वस्थ रहन सकिन्छ भन्ने विषयमा डा अनिलसँग राष्ट्रिय समाचार समिति (रासस)का आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानी संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ । हाल डा अनिल ग्राण्डी इन्टरनेशनल अस्पतालमा मुटुको शल्यक्रियामा संलग्न हुनुहुन्छ भने बसुन्धरामा उहाँको आफ्नै नेशनल कार्डियाटिक सेन्टरमा कार्यरत हुनुहुन्छ ।

चिसो बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ । जाडो मौसममा विभिन्न प्रकारका रोगहरू लाग्ने गर्छन् । चिसोले निम्त्याउने स्वास्थ्य समस्याहरूमा मुटुसम्बन्धी समस्या मुख्य रहेको छ । चिसोले रक्तनली र शरीरमा सिधा प्रभाव पार्दछ । चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरूले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्ने हुँदा मुटुभित्रका नलीमा रक्त सञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढ्न जान्छ । गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिम बढी रहने गर्दछ । यस्तो अवस्थामा बिरामी र वृद्धहरूलाई हृदयाघात हुने सम्भावना बढी हुने गर्दछ ।

रक्तचापको नियन्त्रण नगरेमा हृदयाघातको खतरा दुई गुणा बढी हुन्छ । मधुमेहले पनि हृदयाघातको जोखिमलाई दुईदेखि तीन गुना बढाउँछ । लामो समयसम्म मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । मधुमेहका रोगीमा रक्तचाप र कोलस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयाघातको खतरा झन् बढी हुन्छ । संसारभरि नै हेर्ने हो भने सबैभन्दा बढी मानिसको मृत्यु मुटु र रक्तनलीसम्बन्धी रोगहरूले हुने गर्छ । हृदयाघात र मस्तिष्कघात नै मुटु र रक्तनलीसम्बन्धी प्रमुख रोगहरू हुन् । हृदयाघातपछि सबैभन्दा बढी मानिसको मृत्यु मस्तिस्कघातले हुने गर्दछ ।

गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिममा बढी हुने हुँदा संसारभर नै चिसोको बेला मुटुका रोगीको सङ्ख्या बढ्ने गर्दछ । मुटुको रोगको जटिलता बढ्दा मृत्युको सङ्ख्या पनि बढ्न जाने अनुसन्धानबाट पुष्टि भएको छ । चिसोको समयमा हृदयाघातमात्र होइन, मस्तिष्कघात पनि बढी हुने गर्दछ । चिसोमा रक्तसञ्चार प्रणालीमा बढी समस्या आउने गर्दछ । यसले गर्दा व्यक्तिको उच्च रक्तचाप बढ्ने, रक्त प्रवाहमा गडबडी गर्दछ । जसले गर्दा मुटुमा रक्तसञ्चार कमी हुन्छ । छाती दुख्ने, मुटु ढुकढुक हुने हुन्छ भने कतिपयलाई हृदयाघात पनि हुन्छ । जाडोमा कोलस्ट्रोलको मात्रा पनि बढी हुन्छ ।

जाडो मौसममा चिसोका कारणले हाम्रो शरीरमा विभिन्न रसायन वा हार्मोनहरू बढ्न जान्छ । शरीरमा उत्पन्न हुने हर्मोनहरू हुन् जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन् । ती हार्मोनहरूले हाम्रो रक्तनलीलाई साँघुरो बनाउँछ । चिसोका कारण मुटुभित्रका नलीमा रक्तसञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ । यसले गर्दा रगतको नशामा जम्ने हुन्छ । मुटुको रक्तनलीमा भयो भने हृदयाघात हुन्छ भने यदि मस्तिष्कको नलीमा भयो भने मस्तिष्कघात हुन्छ ।

यस्तै वायु प्रदूषण, शारीरिक व्यायाममा कमी, मानसिक दबाब, खानपानमा खराबी र मौसमका कारण पनि ह्दयाघातको खतरा बढ्छ । जो व्यक्तिहरूको मुटु कमजोर हुन्छ, उनीहरूमा रोग लाग्ने सम्भावना बढी हुन्छ । मौसम खराब हुने कारण सबैभन्दा बढी समस्या श्वासप्रश्वासमा पर्छ । यसका साथै, फ्लु र निमोनियाजस्ता रोगहरू हुने सम्भावना जाडो मौसममा धेरै हुन्छ । यसैले जाडो मौसममा हाम्रो शरीर र मुटुलाई शरीरको तापमान सन्तुलनमा राख्न विशेष ध्यान दिनुपर्छ ।

जोखिममा रहने वर्ग

उमेरले ६० नाघेका मानिसहरू मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्दछन् । मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूमा मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका बिरामीहरूलाई लिन सकिन्छ ।

यस्ता जोखिम वर्गमा रहेका व्यक्तिले विशेष सतर्कता अपनाउनुपर्छ । मुटुको परीक्षण गर्नुपर्छ । चिसोमा हिँड्न भएन, चुरोट मदिरा सेवन गर्नु भएन । कुनै औषधि नियमित सेवन गरिरहेका व्यक्तिले अझ बढी सचेत भई औषधि नछुटाइ खानुपर्छ । जोखिममा रहेका व्यक्तिमा मुटुरोगी, दमका रोगी र अन्य दीर्घरोगी (मिर्गौला, कलेजो र मस्तिष्क)का बिरामी पर्दछन् ।

बच्ने उपाय

मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्वपूर्ण उपाय हो । सबै व्यक्तिले चिसोबाट बच्नु पर्छ । घरभित्र बस्दा र घर बाहिर जाँदा पनि न्यानो कपडा लगाउनुपर्छ । बिहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्दै गर्नुपर्छ । चिसो समयमा उच्च रक्तचाप, मधुमेह र कोलस्ट्रोललाई राम्रो अवस्थामा राख्नुपर्छ । सामान्यतः साठी वर्ष माथिका व्यक्ति बढी जोखिममा रहेका हुन्छन् । उच्च कोलस्ट्रोलले हृदयाघातको खतरा तीन गुना बढाउँछ । कोलस्ट्रोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै बढी हुन्छ ।

चिसो समयमा प्रायः रक्तचाप, मधुमेह र कोलस्ट्रोलको मात्रा बढ्ने गर्छ । यतिबेला कतिपय बिरामीलाई औषधि परिवर्तन गर्नु हुनसक्छ । त्यसैले त्यस्ता रोगीहरूले समय–समयमा चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी कुनै पनि प्रकारको समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी राख्नुपर्छ ।

स्वस्थ मुटुका लागि खानपानमा समेत विशेष ख्याल गर्नुपर्छ । चिसोको महिना धेरै चिल्लो कुरा खानु हुँदैन । चुरोट सेवन, मदिरा सेवन गर्नु हुँदैन । त्यस्तै बोसोयुक्त खाना बढी खाने गरिन्छ, जुन मुटुका रोगीहरूका लागि राम्रो होइन । विशेषगरी जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापानमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसै–कसैको यही बेला हृदयाघात भइ मृत्यु पनि हुने गर्दछन् । धुमपानले हृदयाघातको खतरा दुईदेखि चार गुणा बढाउँछ ।

जाडोमा व्यायाम पनि कमै गरिन्छ । यसले गर्दा थप जोखिम बढ्न जान्छ । योग, ध्यान, शारीरिक व्यायाम आदिलाई बढाउनुपर्छ । मोटोपन घटाउनुपर्छ । निद्रा पुग्ने गरी सुत्नुपर्छ । स्वास्थ्य व्यक्तिले पनि दैनिक व्यायाम, बिहानको हिँडाइ गर्न छाड्न हुँदैन । काठमाडौँ उपत्यकामा साँझको समय बढी हावा चल्ने हुँदा यस्तो बेला हिँड्नु थप जोखिमपूर्ण हुनेछ ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वास्थ राख्न मद्दत गर्दछ । वनस्पतिहरूबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनाबबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू