शनिबार, वैशाख १५, २०८१
03:26 | ०८:११

लन्डनमा १० वर्षीय अंशुको चित्रकला सेसनमा रमाए बालबालिका

नेपाली लिङ्क मार्च ७, २०२१

लन्डन । लकडाउनका बेला बालबालिकालाई रचनात्मक गतिविधिमा सहभागी गराउने लक्ष्यसहित लन्डनमा एक भर्चुअल चित्रकला सेसन सम्पन्न भएको छ ।  

पासा पुच: साउथ इष्ट लन्डनको आयोजनामा संचालित चित्रकला सेसनमा बेलायतस्थित ४१ नेपाली बालबलिका सहभागी भए ।  उनीहरुलाई लन्डनमै बस्दै आएका एक १० वर्षीय बालकले चित्रकला सिकाउंदै प्रत्यक्ष अभ्यास पनि गराए ।  

सानैदेखि चित्रकला सिक्दै र अभ्यास गर्दै आएका अंशु सुवालले आफ्ना चित्रकला प्रदर्शन गर्नुका साथै सहभागी अन्य बालबलिकालाई सुन्दर चित्रकला तयार गर्ने तरिका सिकाएका थिए । लाइभ सेसनमा उनले ‘थ्री डी’ हाउस को चित्र कोरेर देखाएपछि कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिकाले उनलाई पछ्याउंदै आधा घण्टाभित्रै सोही चित्र बनाए ।  

कार्यक्रममा ७ देखि १२ वर्षसम्मका बालबालिकाको सहभागिता थियो । चित्रकला सेसनमा रमाएका उनीहरु यस्तै अर्को कार्यक्रम कहिले हुन्छ भनेर सोधिरहेका थिए ।  

त्यसअवसरमा चित्रकला सेसन संचालन गर्ने अंशुकी नेपालस्थित प्रशिक्षक एवम् ’फाइन आर्ट टिचर’ रुपा महर्जनले शुभकामना दिएकी थिइन् । पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठले सहभागी एवम् सहयोगीहरुसहित संस्थाका खेलकुद संयोजक ईश्वर महर्जन, कार्यसमिति सदस्य अन्जु सुवाललाई धन्यवाद ज्ञापन गरेका थिए ।  

कार्यक्रममा संस्थाका संरक्षक कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष सुशिल प्रजापति, एनआरएनए इंग्ल्याण्ड अध्यक्ष दिपक श्रेष्ठ, पासा पुच: रेडिङ अध्यक्ष जानकी कायस्थ लगायतको पनि उपस्थिति थियो ।  

आगामी दिनमा पनि बालबालिकाका लागि विविध रचनात्मक गातिविधि आयोजना गर्दै जाने संस्थाका महासचिव नगेन्द्र श्रेष्ठले जानकारी दिए ।  

चित्रकला सेसन चलाउने अंशुकी आमा अहिल्या सुवालले आफ्नो छोराको प्रतिभा अरुमाझ शेयर गर्ने मौका दिने पासा पुच: साउथ इष्ट र सहभागी सबै बालबालिकालाई धन्यवाद दिइन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू