सोमबार, २९ जुन, २०२६
19:53 | ००:३८

गोर्खा मुद्धामा बेलायती मन्त्रीहरुसंग निरन्तर छलफलमा कार्यवाहक राजदूत

सरकार परिवर्तनले गोर्खा वार्तामा असर नपार्ने

नेपाली लिङ्क जुन २९, २०२६

नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, बेलायतका रक्षामन्त्री ड्यान जार्भिस र अल पार्टी पार्लियामेन्टरी ग्रुपकी प्रमुख सांसद एलेक्स बेकर।

लन्डन- बेलायतमा प्रधानमन्त्री किअर स्टार्मरको राजीनामापछि सरकार कामचलाउ अवस्थामा रहंदापनि भूतपूर्व गोर्खाहरुको मुद्धामा जारी सरकारस्तरीय त्रिपक्षीय वार्ताको सन्दर्भमा भने अहिले पनि छलफल र तयारीका कामहरु निरन्तर भइरहेका छन्।

गतसाता मात्रै बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायत सरकारका रक्षामन्त्री र भेटेरान मन्त्रीसंगको छुट्टाछुट्टै भेटमा गोर्खा मुद्धाबारे छलफल गरेका छन्। गोर्खा मुद्धा समाधानको वातावरण बनाउने प्रयासमा कार्यवाहक राजदूत बेलायती रक्षामन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीसंग समेत निरन्तर छलफलमै रहेको दूतावासले जनाएको छ।

शनिबार अल्डरसटमा ‘आर्म्ड फोर्सेज् डे समारोह’ को साइडलाइनमा बेलायतका नवनियुक्त रक्षामन्त्री ड्यान जार्भिस र कार्यवाहक राजदूत दुवाडीबीच अनौपचारिक छलफल भएको थियो।

त्यस अवसरमा कार्यवाहक राजदूत दुवाडीले गोर्खाहरुको मुद्धा लामो समयदेखि थाती रहेको तथा धेरै पूर्व गोर्खाहरुको उमेर पनि ढल्किंदै गएको सन्दर्भमा यथासक्य चांडो समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहंदै आएको स्मरण गराएका थिए।

गोर्खा मुद्धा र जारी वार्ताको प्रगतिबारे बेलायतका नवनियुक्त रक्षामन्त्री पूर्ण जानकार रहेको आफूले पाएको बताउँदै दुवाडीले भने, ‘उहाँहरु पनि जारी वार्ता र छलफल निरन्तर राख्दै चांडै निष्कर्षमा पुग्नुपर्छ भन्नेमा सकारात्मक देखिनुभएको छ।’

सकेसम्म आगामी जुलाइको मध्यतिर बेलायती संसदको चालु सेसन अन्त्य हुनुअघि नै अर्को चरणको वार्तामा बस्ने लक्ष्य राखेर गृहकार्यमा जुटिरहेको उनले जनाए।

त्यसअघि गत बुधबार मात्रै कार्यवाहक राजदूत दुवाडीले बेलायत सरकारका भेटेरान मन्त्री काल्भिन बेइलीसंग पनि छलफल गरेका थिए। स्यान्डहस्र्टमा आयोजित ब्रिगेड अफ गोर्खाजको वार्षिक इभेन्टको साइडलाइनमा भएको भेटमा पनि यथाक्सय चाँडो गोर्खा मुद्धाको समाधान खोज्नेबारे छलफल भएको दुवाडीले बताए।

बेलायती रक्षामन्त्रीसंगको भेटमा अल पार्टी पार्लियामेन्टरी ग्रुपकी प्रमुख सांसद एलेक्स बेकर तथा भेटेरानमन्त्रीसंगको भेटमा नेपालका लागि बेलायती राजदूत रब फेनसहितको सहभागिता थियो।

यसबीचमा बेलायती रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीसंग पनि कार्यवाहक राजदूत दुवाडीले गोर्खा वार्ताको तयारीकेन्द्रित छलफलहरु निरन्तर राखेका छन्।

बेलायतमा प्रधानमन्त्रीको राजीनामापछि सरकार नै परिवर्तन हुन लागेपनि नयाँ सरकार पनि अहिलेकै सत्तारुढ लेबर पार्टीकै बन्नेछ र अहिलेकै कतिपय मन्त्रीहरु समेत कायम रहन सक्नेछन्। त्यसैले गोर्खा वार्ताको अबको प्रक्रिया अहिलेसम्म प्रगति भएको बिन्दुबाटै अघि बढ्छ र खासै अन्योल हुंदैन भन्ने अपेक्षा छ।

कार्यवाहक राजदूत विपिन दुवाडी, बेलायत सरकारका भेटेरान मन्त्री काल्भिन बेइली, नेपालका लागि बेलायती राजदूत रब फेनलगायत।

 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू