शुक्रबार, २६ जुन, २०२६
10:49 | १५:३४

रेडिङमा ज्येष्ठ नागरिकमाथिको दुर्व्यवहारबारे सचेतना कार्यक्रम

नेपाली लिङ्क जुन २६, २०२६

लन्डन- ग्रेटर रेडिङ नेपाली कम्युनिटी (जीआरएनसी) ले गत शनिबार ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष कार्यक्रम गरेको छ।

हालै बेलायतको अल्डरसटमा वृद्ध अवस्थाका पूर्व गोर्खाहरुमाथि जातीय घृणाप्रेरित आक्रमण भएको एक साता नहुंदै सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहारका विभिन्न स्वरूप र त्यसका संकेतहरू कसरी पहिचान गर्ने तथा समुदायका सबै सदस्यहरूले सुरक्षित र सम्मानजनक वातावरण निर्माणमा कसरी भूमिका खेल्न सक्छन् भन्ने लगायतका विषयमा छलफल गरिएको थियो।

समूहगत अन्तरक्रिया, प्रस्तुतिकरण र रोल–प्ले (अभिनय) मार्फत सहभागीहरूलाई व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

अल्डरसटमा हालै भएको घृणाजन्य अपराधको सन्दर्भमा पनि कार्यक्रममा विशेष छलफल गरिएको थियो। सहभागीहरूलाई यस्ता घटनाहरूको समयमै जानकारी गराउने, पीडितहरूलाई सहयोग गर्ने तथा दुर्व्यवहार, विभेद र घृणाविरुद्ध एकजुट भएर उभिनुपर्ने आवश्यकताबारे सचेत गराइएको थियो।

रश्मोर सिटिजन्स एड्भाइसका सहजकर्ता एलिजा गुरुङ र स्मृति गुरुङले सञ्चालन गरेको अन्तरक्रियात्मक कार्यशालामा स्थानीय नेपाली समुदायका ५० भन्दा बढी सदस्यको सहभागिता थियो, जसमा अधिकांश ज्येष्ठ नागरिकहरू थिए।

समाजका उपाध्यक्ष यादव श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रममा रेडिङ बरोकी काउन्सिलर प्रतीक्षा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

नेपाली भाषामा सञ्चालन गरिएको कार्यशालामा सहजकर्ताहरूले ज्येष्ठ नागरिकहरूको अधिकार, उपलब्ध परामर्श सेवाहरू, सहायता प्राप्त गर्ने उपायहरू तथा समुदायमा सुरक्षित रूपमा बसोबास गर्न आवश्यक जानकारीहरू प्रस्तुत गरेका थिए।

जानकारी अझ प्रभावकारी र आकर्षक बनाउन प्रस्तुतीकरण तथा रोल–प्ले विधिको प्रयोग गरिएको थियो। सहभागीहरूले यस व्यवहारिक शैलीको प्रशंसा गर्दै यसले जटिल विषयहरूलाई सहज रूपमा बुझ्न मद्दत पुगेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा उल्लेख्य संख्याका गोर्खा समुदाय साथै सिंगो नेपाली समुदायबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । साथै, तमुधिं यूके, मगर संघ यूके, पासा पुचः यूके, तामाङ घेदुङ यूके लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता थियो।

यस अवसरमा जीआरएनसीले ज्येष्ठ नागरिकहरूबीच आपसी सम्बन्ध र सामाजिक सहभागिता बढाउने उद्देश्यले प्रत्येक दुई हप्तामा एकपटक ‘योङ एट हार्ट टिम’ गठन गरी नियमित भेटघाट कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

यस समूहमार्फत ज्येष्ठ नागरिकहरू एकआपसमा भेटघाट गर्ने, अनुभव आदान–प्रदान गर्ने, सुख–दुःख साटासाट गर्ने तथा एक्लोपनको भावना कम गर्ने अवसर प्राप्त गर्नेछन्। उक्त समूहको नेतृत्व जीआरएनसीका पूर्व अध्यक्ष कृष्ण न्यौपानेले गर्नेछन्।

कार्यक्रमका संयोजक तथा उपाध्यक्ष यादव श्रेष्ठले समुदायका सदस्यहरूबीच आपसी सञ्जाल र सम्बन्धलाई अझ सुदृढ बनाउन कार्यशालाकै क्रममा एउटा ह्वाट्सएप समूहको सुरुवात गरिएको जानकारी दिए।

यो समूह समुदायका सबै सदस्यहरूका लागि खुला रहनेछ र कसैले पनि आफूलाई एक्लो महसुस गर्नु नपरोस् भन्ने उद्देश्यले सबैलाई यसमा आबद्ध हुन आग्रह गरिएको छ।

संस्थाका महासचिव डा. भरत पौड्यालले जीआरएनसीले आगामी दिनहरूमा मासिक रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिए। ती कार्यक्रममा सूचना प्रविधि (आइटी) सुरक्षा, वित्तीय साक्षरता तथा ठगीबाट बच्ने उपाय, स्वास्थ्य तथा मानसिक स्वास्थ्य सचेतना, सामाजिक सेवा तथा लाभसम्बन्धी जानकारी, कानुनी अधिकार तथा समुदायिक सुरक्षा जस्ता विषयहरू समेटिनेछन्।

कार्यक्रमका आयोजकले यस्ता पहलले समुदायमा जागरण, सहकार्य र सामाजिक एकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुरयाउने विश्वास लिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू