बुधबार, १ जुलाइ, २०२६
00:00 | ०४:४५

अन्तिम १६ को लक्ष्यमा मैदान उत्रिंदै इंग्ल्यान्ड, चुनौति दिंदै डिआर कंगो

नेपाली लिङ्क जुन ३०, २०२६

लन्डन- फिफा विश्वकप २०२६ को उपाधि दाबेदारमध्ये एक इंंग्ल्यान्डले नकआउट चरणको आफ्नो पहिलो खेलमामा बुधबार डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआर कंगो) सँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘एल’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको इंंग्ल्यान्डसंग भिड्न लागेको डिआर कंगो पहिलोपटक नकआउट चरण पुगेको हो।

प्रशिक्षक थोमस टुहेलको नेतृत्वमा रहेको इंंग्ल्यान्डले समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको थियो। पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको टीमले दोस्रो खेलमा घानासँग गोलरहित बराबरी खेलेको थियो। अन्तिम खेलमा पानामामाथि २–० को जित निकाल्दै सात अंकसहित समूह विजेताका रूपमा राउन्ड अफ ३२ मा स्थान सुरक्षित गरेको हो। समूह चरणभर इंंग्ल्यान्डले आक्रामक खेलसँगै सन्तुलित रक्षात्मक प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेको छ।

कप्तान ह्यारी केन, जुड बेलिङ्घम, बुकायो साका र डेक्लान राइसजस्ता अनुभवी खेलाडीको उपस्थिति इंंग्ल्यान्डको बलियो पक्ष हो ।

यता डिआर कङ्गोले पोर्चुगलसँग बराबरी, उज्बेकिस्तानमाथि ऐतिहासिक जित र प्रतिस्पर्धात्मक प्रदर्शनका आधारमा नकआउट यात्रा तय गरेको हो। योआने विस्सा, सेड्रिक बाकाम्बु र कप्तान चान्सेल म्बेम्बा डिआर कङ्गोका प्रमुख खेलाडी हुन्।

इंंग्ल्यान्डले हालसम्म एकपटक मात्र विश्वकपको उपाधि जितेको छ। सन् १९६६ मा आफ्नै घरेलु मैदान वेम्ब्लीमा भएको फाइनलमा पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–२ ले हराउँदै इंंग्ल्यान्ड पहिलो तथा अहिलेसम्मकै एकपटक मात्रै विश्वविजेता बनेको थियो। त्यसयता भने टोलीले विश्वकप उपाधि जित्न सकेको छैन। सन् १९९० र २०१८ मा सेमिफाइनल तथा २०२२ मा क्वार्टरफाइनलसम्म पुगे पनि उपाधिको खडेरी रहँदै आएको छ।

अनुभव, खेलाडीको गुणस्तर र हालको लयका आधारमा इंंग्ल्यान्डलाई पनि उपाधिको स्पष्ट दाबेदार मानिएको छ। तर पहिलो पटक नकआउट चरणमा पुगेको डिआर कंगोले पनि प्रतियोगितामा आफूलाई कठिन प्रतिद्वन्द्वीका रूपमा स्थापित गरिसकेको छ। त्यसैले अन्तिम १६ मा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रने इंंग्ल्यान्डलाई डिआर कंगोले राम्रै चुनौती दिन सक्ने ठानिएको छ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू