बिहीबार, २५ जुन, २०२६
10:16 | १५:०१

पूर्व गोर्खामाथि आक्रमणको बेलायती संसदमा निन्दा

प्रधानमन्त्री स्टार्मरले भने- हामी हाम्रा गोर्खाहरुकै साथमा छौं

नेपाली लिङ्क जुन २५, २०२६


लन्डन। बेलायतमा भूतपूर्व गोर्खाहरुमाथि भएको जातीय घृणाप्रेरित आक्रमणको बेलायती प्रधानमन्त्री किअर स्टार्मरले पनि निन्दा गरेका छन् । उनले घटनालाई अत्यन्तै लज्जाजनक समेत भनेका छन् ।

बेलायती संसदमा बुधबार अल्डरसटकी सांसद एलेक्स बेकरले गोर्खाहरुमाथिको आक्रमणको विषय उठाएकी थिइन्। उनले यहि साता आर्मड् फोर्सेज् डे मनाएर एकातिर देशको लागि सेवा गर्नेहरुलाई सम्मान गरिरहंदा वृद्ध अवस्थाका भूतपूर्व गोर्खा सैनिकहरुमाथि जातीय घृणाप्रेरित आक्रमण भएको र उनीहरुलाई घर फर्कन भनिएको उल्लेख गरिन् ।

सांसद बेकरले प्रधानमन्त्री र सिंगो संसदलाई गोर्खाहरुमाथि भएको निकृष्ट आक्रमणको निन्दा तथा गोर्खाहरुको बहादुरीको प्रशंसाका लागि एकबद्ध हुन आग्रह गरिन् ।

सांसद बेकरले गोर्खाहरुले बेलायतका लागि असाधारण योगदान दिएको स्मरण गराउंदै लामो समयदेखि थाती रहेको गोर्खाहरुको पेन्सनसम्बन्धी मुद्धा समेत समाधान गर्ने बेला आएको बताइन् ।

सांसद बेकरको प्रश्नमा जवाफ दिंदै प्रधानमन्त्री किअर स्टार्मरले गोर्खाहरुमाथिको आक्रमण अत्यन्तै लज्जाजनक रहेको बताए । उनले घटनाको निन्दा समेत गरे ।

गोर्खाहरुले बेलायतको सुरक्षा बलमा असाधारण योगदान गरेका र अहिले पनि निरन्तर सेवा गरिरहेको प्रसंग जोड्दै उनले भन,े हामी हाम्रा गोर्खाहरुसंग एकसाथ छौं ।

गोर्खा पेन्सनका विषयमा बेलायत सरकारका मन्त्रीहरुले भूतपूर्व गोर्खा र नेपाल सरकारसंग बैठक बसेर रचनात्मक छलफल गरेको र यो प्रयास निरन्तर जारी रहने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू