दिगो वातावरण मैत्री फेसनकी प्रणेता संयुक्ता लन्डन क्लाइमेट एक्सन विकमा


लन्डन – अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठले लण्डन क्लाइमेट एक्सन विकमा नेपाली वातावरण मैत्री परम्परागत शिल्पकारितालाई प्रस्तुत गर्दै विश्वव्यापी नेताहरू, जलवायु अभियन्ताहरू र सांसदहरूको ध्यान आकर्षित गरेकी छन्।
‘रोड टु एन्टाल्या कोप३१’ को हिल हाउसमा आयोजित ‘जिरो वेस्ट हब’ को उच्च-स्तरीय आधिकारिक उद्घाटनमा बोल्दै श्रेष्ठले आफ्नो २५ वर्षभन्दा लामो यात्राको अनुभव बाँडिन् र परम्परागत नेपाली सम्पदालाई आधुनिक सामग्रीको नवप्रवर्तनसँग जोड्ने एक शक्तिशाली मार्गचित्र प्रस्तुत गरिन्।
यो प्रतिष्ठित उद्घाटन समारोह विश्वव्यापी जलवायु अभियानको ‘रोड टु एन्टाल्या कोप३१’ को लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको छ। यस कार्यक्रममा पूर्ण रूपमा फोहोर तथा पुराना सामग्रीहरूबाट निर्मित बेलायती राजा चार्ल्स तृतीयको ‘द किङ अफ सस्टेनेबिलिटी’ नामक तस्बिरको विशेष अनावरण गरिएको थियो। यसले लण्डन क्लाइमेट एक्सन विकको गरिमालाई थप उचाइ दिएको छ जुन आधिकारिक रूपमा विश्वकै सबैभन्दा ठूला स्वतन्त्र जलवायु सम्बन्धी कार्यक्रमहरूमध्ये एक बनेको छ।
मञ्चमा बोल्दै श्रेष्ठले विश्वव्यापी फेसन फोहोर संकटको भयानक अवस्थाबारे स्पष्ट र दृढ आवाज उठाइन्। प्यानल छलफलका क्रममा श्रेष्ठले उद्योगलाई अत्यधिक उत्पादनको मूल कारणसँग जुध्न आग्रह गर्दै एक सान्दर्भिक प्रसंग उठाइन्- “फेसन उद्योगले हरेक वर्ष १ खर्ब (१०० बिलियन) भन्दा बढी कपडाहरू उत्पादन गरिरहेको छ, तर त्यसको १ प्रतिशतभन्दा कम मात्र रिसाइकल (पुनः प्रयोग) हुने गर्दछ। हामीसँग हाल यस पृथ्वीमा आगामी छ पुस्तालाई पुग्ने कपडाहरू उपलब्ध छन्। मुख्य आपूर्ति पाइपमा समस्या हुँदाहुँदै हामीले भान्साको धारा मात्र मर्मत गरेर यो संकटको समाधान गर्न सक्दैनौँ ।”
आफ्नो यही दर्शनलाई मूर्त रूप दिँदै श्रेष्ठले सो समारोहमा आफूले डिजाइन गरेको ‘SS25 बज्रयान’ पहिरेकी थिइन् जुन शून्य-फोहोर पुर्ख्यौली ज्ञान र दक्षिण एसियाली सम्पदा शिल्पको उत्कृष्ट नमुना हो। सो कालो र आइभोरी रङको पहिरन ग्रामीण नेपालका महिलाहरूद्वारा परम्परागत ह्यान्ड-ब्लक प्रविधि र मोनोग्राम प्रिन्ट प्रयोग गरी जैविक बाँस र जैविक कपासबाट हातले कातिएको र बुनिएको हो।

सम्पदा र विज्ञानलाई संयोजन गर्दै सो डिजाइनमा काँचो जैविक कपास र स्याउको फोहोरबाट बनेको लेदरको कर्सिट समावेश थियो। यस पहिरनलाई आँपको कृषि फोहोरबाट बनेको लेदरको हाते झोलाले पूर्णता दिएको थियो, जसमा काठमाडौँका धातुकारहरूले हातले कुँदेको पित्तलको ‘बज्र’ को ह्यान्डल जडान गरिएको थियो। यसले नवप्रवर्तन, जैविक विविधता, महिला सशक्तीकरण र आध्यात्मिक सम्पदालाई समेट्ने १,००० वर्ष पुरानो नेवारी शिल्पकारिताको संरक्षण गर्दछ।
“परम्परागत शिल्पकार, आदिवासी समुदायहरू सधैं प्रकृति, सम्पदा र शिल्पका संरक्षक रहँदै आएका छन्,” श्रेष्ठले भनिन्- “हामीले ९० वर्षदेखि प्लास्टिक प्रदूषणको सामना गरिरहेका छौँ, जसले पृथ्वीसँगको हाम्रो सम्बन्धलाई पूर्ण रूपमा बिगारिदिएको छ। तर हामीले यसको जवाफ खोज्न हजारौँ वर्ष पछाडि हेर्नु पर्दैन—मात्र १०० वर्ष अघि हाम्रो विश्वव्यापी पारिस्थितिक प्रणाली पूर्ण रूपमा चक्रीय थियो। हामीले हाम्रा पुर्खाहरूको ज्ञानलाई हेर्नुपर्छ, जसले वास्तविक चक्रीयता विनाशबाट होइन, प्रकृतिसँगको सामंजस्यताबाट जन्मिन्छ भन्ने कुरा बुझेका थिए।”
फोहोरलाई पुन: परिभाषित गर्ने श्रेष्ठको गहिरो समर्पणको ज्वलन्त उदाहरण प्रतिष्ठित ‘फेसन म्युजियम बाथ यूके’ मा संरक्षित उनको ऐतिहासिक डिजाइनले देखाउँछ। चौध वर्षअघि जब बेलायतको फेसन क्षेत्रमा ‘सस्टेनेबिलिटी’ (दिगोपन) शब्द नौलो थियो, श्रेष्ठले ३० वर्ष पुरानो पत्रिका (न्यूजपेपर) बाट पूर्ण रूपमा हातले ‘वेस्ट टु वन्डर’ गाउन बनाएर चक्रीयताको शिक्षा दिइरहेकी थिइन्।
पुराना फोहोर कागजलाई संग्रहालयमा राख्न योग्य उत्कृष्ट कलाकृतिमा रूपान्तरण गरेर उनले फेसन उद्योगमा एक महत्त्वपूर्ण बहसको सुरुवात किएकी थिइन्, जसले विश्वलाई फोहोरलाई फोहोरको रूपमा मात्र नभई असीमित कलात्मक आश्चर्यको माध्यमको रूपमा हेर्न आग्रह गर्दछ।
फेसन हब LCAW की संयोजक मालिनी मेहरा (ग्लोब इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत) सँग सहमति जनाउँदै श्रेष्ठले अन्य प्रतिष्ठित प्यानल सदस्यहरू जेफ भ्यान सन्सबेक (हाउस अफ बकजेन सीइओ), अमान्डा जनस्टन (द सस्टेनेबल एंगलकी CDO), मर्भ कार्दास मिसिर्ली (टर्किश फेसन हाउस Normaillot की संस्थापक), र शैलजा दुवे (ब्रिटिश फेसन काउन्सिलकी IPF प्रमुख) सँग ऐक्यबद्धता जनाइन्।
उद्योगको जवाफदेहिता, नैतिक डिजाइन, नीतिगत वकालत र सामुदायिक प्रभावमा आ-आफ्नो विविध विशेषज्ञतालाई एकजुट गर्दै उनीहरूले नवप्रवर्तन, पुर्ख्यौली ज्ञान र समानुभूति एक ठाउँमा आउँदा विश्वव्यापी फेसनको लागि एक वास्तविक र सुधारात्मक भविष्य सम्भव छ भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरे।
श्रेष्ठले कोप३१ तर्फको बाटो तय गर्न जारी राख्दै दिगो विलासिताले वातावरणको रक्षा गर्नुका साथै महत्त्वपूर्ण सामाजिक-आर्थिक सशक्कीकरणलाई पनि अगाडि बढाउन सक्छ भन्ने सकारात्मक सन्देश दिएकी छन्।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


