शुक्रबार, चैत १६, २०८०
18:28 | ००:१३

मार्च १४ मा ‘काउन्सिल बैठक’ गर्दै एनआरएनए यूके

बेलायतस्थित तीन सय संस्थाका प्रतिनिधि आमन्त्रित

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२१

लन्डन । एनआरएनए यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको १४ तारिखलाई तय भएको छ ।

क्यालेन्डरअनुसार गत सेप्टेम्बर महिनामै हुनुपर्ने बैठक कोभिड महामारीका कारण केही महिना ढिलो गरी हुन लागेको हो ।  

भर्चुअल माध्यमबाट गर्न लागिएको बैठकमा बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको काउन्सिल बैठकको संयोजन गरिरहेकी एनआरएनए यूके उपाध्यक्ष एवम् संघसंस्था विभाग प्रमुख रोजिना प्रधान राईले जानकारी दिइन् । 

हरेक संघसंस्थाका अध्यक्ष र महासचिव वा तोकिएका कुनै दुई प्रतिनिधि आमन्त्रित रहेको उनले बताइन् । बैठकमा तीन सय संघसंस्थाका प्रतिनिधिसहित एनआरएनए यूके, चारवटै राज्य समिति, आइसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारीदेखि एनआरएनए अभियान र सिंगो समुदायकै अग्रज अभियन्ताहरुको पनि सहभागिता अपेक्षा गरिएको छ ।

‘सेप्टेम्बरमै हुनुपर्ने बैठक कोभिडका कारण रोकियो । अवस्था सुधार होला र भौतिक उपस्थितिमै कार्यक्रम गर्न पाइएला भन्ने आशामा केही समय पर्खिएर बस्यौं । अब तत्काल आम भेला हुन पाउने नदेखिएपछि भर्चुअल रुपमै गर्ने निचोडमा पुगेका हौं’, संयोजक राईले भनिन् ।  


एनआरएनए यूकेमा हरेक कार्यसमितिको  दुई वर्षे कार्यकालमा एक पटक यहाँस्थित अन्य नेपाली संघसंस्थाका प्रतिनिधि निम्त्याएर काउन्सिल बैठक गर्ने परम्परा छ । बैठकमा संघका गतिविधिहरुको समीक्षा गर्दै भावी दिनका लागि समुदायको सल्लाह, सुझाव बटुल्ने गरिन्छ ।

भौतिक सहभागिताबिनै हुन लागेको काउन्सिल बैठकलाई सफल र उपयोगी बनाउनेतर्फ एनआरएनए यूके सचेत रहेको संयोजक एवम् संस्थाकी उपाध्यक्ष राई बताउंछिन् । ‘भर्चुअल रुपमा हुने भएकाले  बैठकको स्वरुप विगतको भन्दा फरक हुने नै छ । तर हाम्रो समुदायको भावना र चाहना बुझ्ने र मार्गदर्शन लिने कार्यलाई सक्दो बढी प्रभावकारी बनाउनमा हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’ 

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पनि काउन्सिल बैठकमा सहभागिताका लागि बेलायतस्थित सबै नेपाली संघसंस्थाका प्रतिनिधिलाई आव्हान गरेकी छन् ।  

‘हामीबीच साझा चासो रहेका विषयहरुमा खुलेर छलफल, अन्तरक्रिया गर्ने एउटा अवसर हो’, उनले भनिन्, ‘एनआरएनए र संघसंस्थाबीचको ‘बोन्ड’ लाई अझ कसिलो पार्ने मौका हो । सबै संघसंस्थाको सक्रिय सहभागिता हामीले अपेक्षा गरेका छौं ।’  

काउन्सिल बैठकका माध्यमबाट यहाँको नेपाली समुदायले एनआरएनए यूकेले गरेका कामहरुको मुल्यांकनसहित भावी दिनका लागि समेत मार्गदर्शन गर्ने आशा संस्थाले गरेको अध्यक्ष गुरुङले बताइन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू