बुधबार, ८ जुलाइ, २०२६
10:56 | १५:४१

बेलायती संसदमा फेरि उठ्यो गोर्खा पेन्सन मुद्दा, रक्षामन्त्रीले भने- कार्ययोजना तयार हुंदैछ

नेपाली लिङ्क जुलाइ ८, २०२६

लण्डन– बेलायती संसदमा भूतपूर्व गोर्खाहरुको पेन्सनसम्बन्धी मुद्धा फेरि उठेको छ । सोमबार रक्षामन्त्री ड्यान जार्भिससंगको प्रश्नोत्तरका क्रममा अल्डरसटकी सांसद एलेक्स बेकरले गोर्खा पेन्सनको विषय उठाएकी हुन्।

बेलायती संसदको नेपाल मामिला हेर्ने सर्वदलीय संसदीय समितिकी प्रमुख समेत रहेकी सांसद बेकरले अल्डरसटमा गत सप्ताहन्तमा ब्रिगेड अफ गोर्खाजको सम्मानमा आयोजित ‘नेपाल कप’ मा गोर्खा भूतपूर्व सैनिकहरूसँग भेटघाट भएको प्रसंग सुनाइन् । र त्यसक्रममा उनीहरुसंग कुराकानी गर्दा गोर्खा भेट्रानहरुको पेन्सनलगायत वर्षौंदेखि समाधान हुन नसकेका विषय तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता पुनः महसुस गराएको उनले बताइन्।

सांसद बेकरले बेलायत सरकारका भेट्रान मन्त्रीले गोर्खा भूतपूर्व सैनिकहरूसँग प्रत्यक्ष संवाद थालेको र उनीहरूका आवाज सुन्न प्रयास गरेकोमा धन्यवाद दिइन्। अब सरकारले यस पहललाई कसरी अघि बढाएर गोर्खा भूतपूर्व सैनिकहरूले पाउनुपर्ने सम्मान, अधिकार र सहयोग सुनिश्चित गर्नेछ भन्ने प्रश्न रक्षा मन्त्रीसँग राखिन्।

जवाफमा रक्षा मन्त्री ड्यान जार्भिसले गोर्खा सैनिकहरूको योगदानप्रति सिंगो संसदको उच्च सम्मान रहेको बताए । यस विषयमा सांसद बेकरसँग हालै छलफल भएको जानकारी दिंदै उनले गोर्खा प्रतिनिधिहरुको समूह जी१० सहित सम्बन्धित पक्षहरूसँग समन्वय गरी कार्ययोजना तयार भइरहेको पनि उल्लेख गरे । उनले भेट्रान मन्त्रीले यस विषयलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए।

गोर्खा भूतपूर्व सैनिकहरूले लामो समयदेखि बेलायती सैनिकसरह पेन्सन तथा सेवा–सुविधाको माग गर्दै आएका छन्। यो विषय बेलायती संसदमा पटक–पटक उठ्दै आए पनि अहिलेसम्म पूर्ण समाधान हुन सकेको छैन।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू