मंगलबार, ११ अगस्ट, २०२६
14:56 | १९:४१

बेलायतमा उत्साहपूर्वक मनाइयो २१३औँ भानु जयन्ती

नेपाली लिङ्क जुलाइ १२, २०२६

लन्डन––बेलायतस्थित नेपालीहरुको पुरानो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले कवि गोष्ठी लगायत विविध साहित्यिक गतिविधि गरी लन्डनमा २१३औँ भानु जयन्ती मनाएको छ ।

वेष्ट लन्डनस्थित एसबीआई कलेजमा आयोजित समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार हरिसिंह थापाले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गरे । परिषदले बेलायतमा नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान पुरयाएको पनि उनले बताए ।

सभापति परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्दै नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न नेपाली भाषा, साहित्य, संस्कृति जस्ता चिनारी जोगाउंदै लैजानुपर्ने औंल्याए ।

यसअघि स्वागत मन्तव्य दिंदै परिषद्का सहअध्यक्ष तथा यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष ध्रुव केसीले त्यसबेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाल भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए, त्यो आफैंमा एक साहसिक कदम भएको स्मरण गरे । भानुभक्तले नेपाली साहित्यिक यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा समेत गरे ।

समारोहमा परिषद्का सल्लाहकार तथा कोशेली नेपाली सांस्कृतिक परिवार यूकेका पूर्व अध्यक्ष मदन थापाले नेपाली साहित्य विकास परिषद यूकेले विदेशमा नेपाली भाषा, साहित्य, संस्कृति जीवन्त राख्न अनुकरणीय कार्य गरेको उल्लेख गरे । थापाले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्नरूपले भिजेको उल्लेख गर्दै परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य परिषद्को स्थापनाकालदेखि नै निरन्तर गर्दै आएको बताए ।

कार्यक्रम सञ्चालन गर्दै परिषद्की महासचिव डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको बताइन् । बेलायतमा परिषद्ले भानुको सम्झनामा हरेक वर्ष भानु जयन्ती मनाएर साहित्यिक गतिविधि मात्र बढाएको होइन, समाजलाई सिर्जनशील हुन पनि प्रेरणा जगाइरहेको उनको भनाइ थियो ।

आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यापर्णबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गरेका थिए भने परिषद्का प्रमुख सल्लाहकार वरिष्ठ समाजसेवी यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ‘ओबीई’ ले शुभकामना सन्देश दिएका थिए ।

दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा ज्येष्ठ नागरिक बद्रिप्रसाद कुँइकेलले भजन गाएर कविता वाचनको चरण आरम्भ गरेका थिए । कविता वाचन गर्ने कवि कवयित्रीहरूमा हरिसंह थापा, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, मनोज अन्जान, मदन थापा, डा. सुधा श्रेष्ठ, कोमल मल्ल थिए । घन बहादुर थापा मगर र वासुदेव साप्कोटाको कविता कोमल मल्लले वाचन गरेका थिए ।

उक्त कार्यक्रममा परिषदका अध्यक्ष मल्लले आर्थिक तथा भौतिक सहयोग पुर्‍याउने डा. राघव प्रसाद धिताल ‘ओबीई’ तथा डा. जनककुमारी धिताल, ध्रुव केसी, घनबहादुर थापा मगर तथा कृष्णा थापा मगर, कृष्ण भट्ट, मनोज अन्जान, मदन थापा, डा.सुधा श्रेष्ठ, हरि सिंह थापा तथा कोहिनुर मल्ललाई विशेष धन्यवाद दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू