शुक्रबार, चैत १६, २०८०
19:33 | ०१:१८

बेलायतमा विकसित अक्सफोर्ड-एस्ट्राजेनेका खोपलाई डब्लुएचओद्वारा मान्यता

रासस–एएफपी फ्रेब्रवरी १६, २०२१

जेनेभा ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । 

कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।

एस्ट्राजेनेकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।

डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । एस्ट्राजेनेका खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।

भारत र दक्षिण कोरियाबाट एस्ट्राजेनेकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् । यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ ।

कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट एस्ट्राजेनेकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ ।यी खोपहरु दुई डोज लगाउनु पर्दछ ।

६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि एस्ट्राजेनेकाको खोप लगाउन मिल्ने डब्लुएचओले जनाएको छ । डब्लुएचओको विज्ञ सल्लाहकार समूहको बैठकले एस्ट्राजेनेकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ । 

यसअघि पर्याप्त तथ्याँकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लुएचओले स्वीकार गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू