सोमबार, १३ जुलाइ, २०२६
10:24 | १५:०९

बेलायतमा अर्का विद्यार्थीको क्यान्सरबाट दुःखद निधन, शव नेपाल लैजान चन्दा संकलन अभियान सुरु

नेपाली लिङ्क जुलाइ १३, २०२६


लन्डन – बेलायतमा उच्च शिक्षा अध्ययनरत प्युठान जिल्ला, दरभाङका १९ वर्षीय आशिष कुँवर क्षेत्रीको दुःखद निधन भएको छ।

उनी जनवरी २०२५ मा उच्च शिक्षा अध्ययनका लागि बेलायत आएर युनिभर्सिटी अफ वेस्ट लन्डनमा कम्प्युटर साइन्स विषय अध्ययनरत थिए।

बेलायत आइपुगेको केही समयपछि नै उनलाई क्यान्सर भएको पत्ता लाग्यो र ह्यामरस्मिथ अस्पतालमा उपचार शुरु गरियो। लामो समयसम्म साहसका साथ क्यान्सर रोगसँग लडेका उनी अन्तत सदाका लागि अस्ताए ।

उनी बेलायतको ग्रीनफोर्ड, इलिङमा आफ्नी दिदी अर्जु केसीसँग बस्दै आएका थिए। अर्जु पनि अल्स्टर विश्वविद्यालयमा अध्ययनरत छिन्। स्वर्गीय आशिष गोविन्द कुँवर क्षेत्री र शान्ता केसीका सुपुत्र हुन्।

“आशिषको असामयिक निधनको खबरले उनका परिवार, आफन्त, साथीभाइ तथा बेलायत र नेपालमा रहेका नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। उज्ज्वल भविष्यको सपना बोकेका एक होनहार युवा विद्यार्थीको असामयिक निधनले हामी सबै मर्माहत भएका छौं,” गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले भने।

उनले यो मानवीय कार्यमा सघाउन बेलायतस्थित नेपाली समुदाय तथा संघसंस्थालाई हार्दिक अपिल पनि गरे।

राप्ती समाज यूके अध्यक्ष चन्द्र बहादुर शाहीले पनि यो मानवीय कार्यमा सक्दो सहयोग गर्न सबैलाई अपिल गरे।

तामाङ समाज यूकेको सहयोगमा खोलिएको गो फन्ड मी पेजमा गएर सक्दो सहयोग गर्न स्वर्गीय क्षेत्रीको परिवारले आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू