आइतबार, १९ जुलाइ, २०२६
18:07 | २२:५२

बर्नहाम बेलायतको नयाँ प्रधानमन्त्री, निर्वाचन नै नभई कार्यकारी बाग्डोर

नेपाली लिङ्क जुलाइ १९, २०२६

लन्डन- बेलायतले फेरि नयाँ प्रधानमन्त्री पाउने भएको छ । तर यसपटक न त आमनिर्वाचन भएको छ, न त पार्टीका सदस्यहरूले नै मतदान गरेका छन् । लेबर पार्टीका नेता एन्डी बर्नहाम अब बेलायतको नयाँ प्रधानमन्त्री बन्दैछन् । धेरैलाई जिज्ञासा लाग्न सक्छ– निर्वाचन नै नभई प्रधानमन्त्री कसरी फेरिन्छ ?

बेलायती प्रधानमन्त्री केअर स्टार्मरले गत महिना पदबाट राजीनामा दिने घोषणा गरेका थिए । त्यसपछि सत्तारुढ लेबर पार्टीले नयाँ नेता चयन गर्ने प्रक्रिया अघि बढायो । एन्डी बर्नहामले लेबर पार्टीका सांसदहरूको अत्यधिक समर्थन प्राप्त गरेपछि उनी शुक्रबार निर्विरोध पार्टी नेता बनेका छन् । बेलायती संसदमा बहुमत भएको दलको नेता नै प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था भएकाले अब उनी प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

तर नेता बनेकै दिन उनी प्रधानमन्त्री भने बन्दैनन् । बेलायती परम्पराअनुसार प्रधानमन्त्री परिवर्तनको औपचारिक प्रक्रिया सोमबार मात्रै पूरा हुन्छ । त्यसदिन केअर स्टार्मरले राजा चाल्र्ससमक्ष आफ्नो राजीनामा औपचारिक रूपमा बुझाउनेछन् । त्यसलगत्तै राजाले एन्डी बर्नहामलाई सरकार गठन गर्न निमन्त्रणा दिनेछन् । निमन्त्रणा स्वीकार गरेसँगै बर्नहाम औपचारिक रूपमा बेलायतका प्रधानमन्त्री बन्नेछन् ।

को हुन् एन्डी बर्नहाम ?

५६ वर्षीय बर्नहाम बेलायती राजनीतिका अनुभवी नेता हुन् । यसअघि उनले स्वास्थ्य, संस्कृति र ट्रेजरी जस्ता मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । पछिल्ला केही वर्षदेखि भने उनी ग्रेटर म्यानचेस्टरका मेयरका रूपमा काम गर्दै आएका थिए । उत्तरी इङ्ग्ल्यान्डका क्षेत्रीय अधिकारका पक्षमा निरन्तर आवाज उठाएकाले उनलाई धेरैले ’किङ अफ द नर्थ’ भनेर पनि चिन्ने गर्छन् ।

बर्नहामले प्रधानमन्त्री बनेपछि क्षेत्रीय विकास, सार्वजनिक सेवाको सुधार, सामाजिक न्याय र आर्थिक असमानता घटाउने विषयलाई प्राथमिकतामा राख्ने संकेत दिएका छन् ।

तर चुनौतीहरू कम छैनन् । बेलायत अहिले सुस्त आर्थिक वृद्धि, बढ्दो सार्वजनिक ऋण, जीवनयापनको महँगी र अध्यागमनजस्ता जटिल समस्यासँग जुधिरहेको छ । त्यसैले नयाँ प्रधानमन्त्रीका रूपमा बर्नहमले जनताको विश्वास कायम राख्दै आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेछ । साथै, सुधारवादी पार्टी र नाइजेल फराजको बढ्दो प्रभावलाई रोक्नु पनि उनको ठूलो राजनीतिक चुनौती हुनेछ ।

बेलायतमा प्रधानमन्त्री परिवर्तनका लागि हरेक पटक आमनिर्वाचन आवश्यक पर्दैन । संसदमा बहुमत भएको दलले नयाँ नेता छानेपछि उनी स्वतः प्रधानमन्त्री बन्न सक्छन् । अब एन्डी बर्नहमको नेतृत्वले लेबर पार्टीलाई नयाँ दिशा दिन्छ कि दिँदैन, र आगामी आमनिर्वाचनसम्म बेलायतको राजनीतिलाई कसरी प्रभावित पार्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू