सोमबार, १३ जुलाइ, २०२६
14:01 | १८:४६

लन्डनबाट नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’ (भिडियो)

नेपाली लिङ्क जुलाइ १३, २०२६

लन्डन । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत-भिडियो ‘छम्म छम्म नाचौंला’ सार्वजनिक गरिएको छ।

मौलिक नेपाली संस्कृति तथा माइती र चेलीको आत्मीय सम्बन्ध, तीज उमंग र सामाजिक यथार्थलाई समेटेर तयार गरिएको उक्त गीत क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममा दर्शकश्रोतामाझ सार्वजनिक गरिएको हो।

यो गीत गोर्खा इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतका शब्द तथा सङ्गीत बेलायतमा रहेका पत्रकार, गीतकार तथा सामाजिक अभियन्ता नरेन्द्र बस्नेतको छ भने स्वर एआई भोकलबाट तयार गरिएको हो।

आधुनिक प्रविधि र नेपाली मौलिक संस्कृतिको संयोजन गर्ने उद्देश्यले गीत निर्माण गरिएको गीतकार बस्नेतले बताएका छन्।

‘यसपालीको तीजमा, चेली माइती साथमा, छम्म छम्म नाचौँला समाएर हातमा’ बोलबाट सुरु हुने गीतले तीज पर्वको रमाइलो, माइतीघरको सम्झना, दिदीबहिनीबीचको आत्मीयता, दर खाने परम्परा, व्रत, नृत्य र आधुनिक पुस्ताको जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतमा तीजको सांस्कृतिक पक्षसँगै समसामयिक विषय जस्तै महंगिएको सुनको मूल्य, ‘सेल्फी खिचौंला’ र ‘टिकटक बनाउँला’ जस्ता विषय पनि रोचक ढंगले समेटिएको छ।

गीतको भिडियोमा बिनिता बस्नेतको प्रस्तुति छ। दर्शकश्रोताहरूको माया पाएमा युट्युब च्यानलबाट हुने आम्दानीलाई नेपालमा आर्थिक सहयोगका लागि प्रयोग गरिने उनले बताएकी छन्।

भिडियो निर्देशन, छायांकन र सम्पादन पशुपति सुनारले गरेका छन् भने कोरियोग्राफी सन्ध्या रसाइलीको छ। भिडियोमा तीज पर्वको मौलिकपन झल्किने पहिरन, नृत्य र उत्सवमय वातावरणलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

गीतकार नरेन्द्र बस्नेतले यसअघि पनि पत्रकारिताको पेशागत मूल्य, सत्य र सामाजिक उत्तरदायित्वलाई समेटिएको ‘पत्रकार पत्रकार, हामी पत्रकार’ बोलको गीत सार्वजनिक गरिसकेका छन्।

त्यस्तै, उनले क्षेत्री समाज बेलायतको आधिकारिक थीम गीत ‘हामी क्षेत्री’ समेत तयार गरी सार्वजनिक गरेका छन्। बस्नेतले सामाजिक संस्था, नेपाली समुदाय र सांस्कृतिक विषयवस्तुलाई समेटेर मौलिक सिर्जना गर्दै आएका छन्।

आगामी तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको ‘छम्म छम्म नाचौंला’ ले नेपालसँगै विश्वभर रहेका नेपाली समुदायबीच तीज उत्साह थप बढाउने विश्वास गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू