आइतबार, १९ जुलाइ, २०२६
19:13 | २३:५८

बेलायतमा डिजिटल आइडी योजना खारेज गर्ने नयाँ प्रधानमन्त्रीको घोषणा

नेपाली लिङ्क जुलाइ १९, २०२६

लन्डन । बेलायतका नयाँ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्न लागेका एन्डी बर्नहामले सबै ब्रिटिश वयस्कहरूका लागि ल्याउन लागिएको सरकारी डिजिटल आइडी सम्बन्धि योजना पूर्ण रूपमा खारेज गर्ने घोषणा गरेका छन्।

सोमबार राजा चाल्र्स तृतीयसँग भेट गरी औपचारिक रूपमा प्रधानमन्त्रीको जिम्मेवारी लिनुअघि नै उनको कार्यालयले यो निर्णय सार्वजनिक गरेको हो।

बर्नहामको सचिवालयका अनुसार राष्ट्रिय डिजिटल आइडी योजनामा खर्च हुने समय र स्रोत–साधन अब देशका नागरिकहरूले सामना गरिरहेका दैनिक प्राथमिकताहरू, विशेष गरी जीवनयापनको बढ्दो लागत कम गर्ने क्षेत्रमा स्थानान्तरण गरिनेछ।

‘हामी जनताको तत्कालको आवश्यकतामा केन्द्रित हुनेछौं, उनीहरूले दैनिक जीवनमा महसुस गर्न सक्ने परिवर्तन ल्याउनेछौं,’ उनका प्रवक्ताले भनेका छन् ।

प्रधानमन्त्री सर किअर स्टार्मरको पालामा लेबर पार्टी सम्मेलन अगाडि सन् २०२५ सेप्टेम्बरमा यो योजना अघि सारिएको थियो । स्टार्मरले कामदारहरूका लागि डिजिटल आइडी अनिवार्य गर्दा अवैध रूपमा काम गर्ने आप्रवासीहरूमाथि नियन्त्रण गर्न र सरकारी सेवाहरूलाई आधुनिकीकरण गर्न सजिलो हुने तर्क गरेका थिए । यस प्रणालीमार्फत नागरिकहरूले बारम्बार कागजात पेश गर्नु नपर्ने र सेवाहरूमा सजिलै पहुँच पाउने दाबी गरिएको थियो ।

गत नोभेम्बरमा ‘अफिस फर बजेट रेस्पोन्सिबिलिटी’ ले यो कार्यक्रमका लागि तीन वर्षमा १.८ अर्ब पाउण्ड खर्च हुने अनुमान गरेको थियो, जसलाई डाउनिङ स्ट्रिटले अस्वीकार गरेको थियो । तर, यो योजनाको विरोधमा झन्डै ३० लाख मानिसले संसदमा हस्ताक्षर अभियान शुरु गरेपछि गत जनवरीमा सरकारले यसलाई अनिवार्यबाट ऐच्छिक बनाएको थियो ।

गृह मामिला समितिकी सभापति डेम कारेन ब्राडलीले यो योजनालाई “पूर्ण रूपमा असफल” भन्दै नागरिक स्वतन्त्रतामा हस्तक्षेपको डर पैदा गरेको टिप्पणी गरेकी थिइन्।

निर्णय सार्वजनिक भएपछि विपक्षी कन्जर्भेटिभ पार्टीकी ‘छाया प्रविधि मन्त्री’ जुलिया लोपेजले लेबरले यस परियोजनामा लाखौं पाउण्ड बालुवामा पानी हालेको आरोप लगाउँदै बर्नहामले “पहिले नै रद्द भइसकेको कुराको जस लिन खोजेको” टिप्पणी गरिन्।

लिबरल डेमोक्रयाट सांसद लिसा स्मार्टले भने नागरिकहरूलाई डेटा बुझाउनुपर्ने बाध्यता हट्नु ठूलो राहतको विषय भएको बताइन्।

कन्जर्भेटिभ नेत्री केमी बडेनोचले बर्नहमसँग देशको वास्तविक प्राथमिकताको बुझाइ नरहेको आरोप लगाएकी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू