आइतबार, १९ जुलाइ, २०२६
19:46 | ००:३१

लन्डनमा स्वास्थ्य चिया सचेतना कार्यक्रम- क्यान्सरबारे विशेषज्ञबाटै सल्लाह र परामर्श

नेपाली लिङ्क जुलाइ १९, २०२६

लन्डन- साउथ इष्ट लन्डनको नेपाली समुदायमा क्यान्सर रोगसम्बन्धि चेतना अभिवृद्धि गर्ने उद्धेश्यले एक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले सञ्चालन गरेको स्वास्थ्य चिया समूहले शनिबार लन्डन प्लमस्टिडमा आयोजना गरेको कार्यक्रममा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मीले ‘प्रिजेन्टेसन’ गरेका थिए ।

उल्लेख्य संख्यामा स्थानीय नेपालीको सहभागिता रहेको कार्यक्रममा सहभागीसंग अन्तरक्रिया गर्दै उनीहरुका जिज्ञासा र स्वास्थ्य समस्याहरुमा विशेषज्ञहरुले सल्लाह र परामर्श समेत उपलब्ध गराए ।

कार्यक्रम मुख्यतः फोक्सोको क्यान्सर, क्षयरोग र मुत्रमार्गको क्यान्सरसंग सम्बन्धित विषयमा केन्द्रित थियो ।

बेलायतको ड्यारेन्ट भ्याली हस्पिटलमा कार्यरत स्वासप्रश्वाससम्बन्धी रोगका कन्सल्टेन्ट डा सुधीर लोहनीले फोक्सोको क्यान्सर, नर्थह्याम्पटन जनरल हस्पिटलमा कार्यरत युरोलोजी कन्सल्टेन्ट डा प्रदिप सुवेदीले प्रोस्टेट, पिशाब थैली र अण्डकोषलगायतको क्यान्सर तथा जानकारी क्षयरोग विशेषज्ञ नर्स सुनिता थापाले क्षयरोगबारे ‘प्रिजेन्टेसन’ दिएका थिए।

विशेषज्ञ स्वास्थ्यकर्मीहरुले सम्बन्धित क्यान्सरबाट जोगिनका लागि ध्यान दिनुपर्ने कुरा, रोकथामका उपाय, प्रारम्भिक लक्षणहरु आदिबारे जानकारी गराए । उनीहरुले बेलायतमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाहरुबारे जानकारी गराउँदै कसरी सहज रुपमा ती सेवा उपभोग गर्न सकिन्छ भनेर सिकाए ।

त्यसक्रममा सहभागीहरुसंग अन्तरक्रियात्मक प्रश्नोत्तर गर्दै उनीहरुले राखेका जिज्ञासा र स्वास्थ्य समस्याहरुमा सल्लाह र परामर्श पनि दिए ।


कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य सहभागिता थियो । जसमध्ये धेरै भूतपूर्व गोर्खा परिवार र ज्येष्ठ नागरिकहरु थिए । उनीहरुले नेपाली डाक्टरहरुबाट नेपाली भाषामै जान्न बुझ्न सकिने र आफ्ना स्वास्थ्य समस्याहरुमा डाक्टरहरुको सल्लाह पनि पाइने भएकाले कार्यक्रम उपयोगी रहेको बताए ।

ग्रीनवीचकी क्यान्सर लिड जीपी डा क्यारोलाइन हलिङटनले स्वास्थ्य चिया समूहले स्थानीय नेपाली समुदायमा सञ्चालन गरेको सचेतना अभियान निकै प्रभावकारी भएको पाउँदा खुशी लागेको बताइन् ।

स्वास्थ्य चिया समूहकी संस्थापक एवम् प्रमुख डा नुमा थेवेले बेलायतको नेपाली समुदायमा स्वास्थ्यसम्बन्धि चेतना फैलाउने र बेलायतमा उपलब्ध स्वास्थ्य सेवाहरुबारे जानकारी गराउने उद्धेश्यले अभियान शुरु गरिएको बताइन्।

आफ्नो समूहले नेपाली भाषामै नेपाली स्वास्थ्यकर्मीहरुबाट उपलब्ध गराउँदै आएको सल्लाह र परामर्श समुदायका लागि उपयोगी भएको पाउँदा आफूहरु यो अभियान निरन्तरताका लागि थप उत्साहित बनेको उनले बताइन् ।

डा थेवेको नेतृत्वमा शुरु भएको स्वास्थ्य चियाको कोर टीममाडा प्रीति गुरुङ, फार्मासिष्ट सुपरिटेन्डेन्ट शोभा शर्मा कंडेल र प्यारामेडिक प्राक्टिसनर सोफिया राई छन् । अभियानमा बेलायतमा कार्यरत थुप्रै नेपाली स्वास्थ्यकर्मीहरु पनि जोडिएर स्वयम्सेवा गर्दै आएका छन्।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू