बेलायतका गुल्मेलीले क्यान्सर पीडितलाई दिए झण्डै १६ लाख


लन्डन । बेलायतवासी गुल्मेलीहरुले नेपालमा क्यान्सर पीडित एक बिरामीको उपचारका निम्ति रु. १५,९५९५०.१९ सहयोग गरेका छन् । १३ जुलाई सोमबार पीडितको निवास रुपन्देहीस्थित सालझण्डीमा सो रकमको चेक हस्तान्तरण गरिएको छ ।
गुल्मी जिल्ला समाज यूकेबाट रू ४५७९४५, भार्सेली समाज यूकेबाट रू ४११०५४.७५, ग्वाघाली समाज यूकेबाट रु २९६१३२ र गुल्मेली थरभाईका सहकोषाध्यक्ष श्रीमती मिना श्रीस बाट संकलित रु ४२६६२४ प्रदान गरिएको हो ।
सहयोग रकम संकलनका संयोजक ओमप्रसाद थापा काउचाले बेलायतवासी गुल्मेली तथा अन्य परोपकारी दयालु मनप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
गुल्मी भार्सेको दबुङ घर भई हाल रुपन्देहीको सालझण्डीमा बसोबास गर्दै आएका मुक्ति श्रीस मगरको गत वर्ष मात्र दुवै किड्नी फेल भएर आफ्नो घर, सम्पति र नजिकका आफन्तको सहयोग मा उपचार सफल भएको थियो । परिवारमा ऋणको बोझ भएपनि खुशीका साथ बांचिरहेका उनीमाथि दुर्भाग्यवश आर्को बज्रपात परेको छ ।
हालैमात्र उनलाई घाँटीको क्यान्सर भयो । नयां किड्नी ट्रान्सप्लान्टका कारण नेपालमा उपचार गर्न कठिनाइ भएर हाल राजीव गान्धी क्यान्सर इन्सटिच्यूट एण्ड रिसर्च सेन्टर, रोहिनी नयांदिल्लीमा उपचार गर्नु पर्दा अत्यन्त खर्चिलो छ । निजको परिवारबाट उनको जीवन बचाउन गुल्मी जिल्ला समाज यूके समक्ष अनुरोधपत्र आएपछि समाजकी अध्यक्ष मन्जु भण्डारी, महासचिव महलाल घिमिरे र समाजका संस्थापक अध्यक्ष एवं हाल टष्ट्री तथा प्रथम नौमती बाजा गुल्मी यूकेका संस्थापक प्रमुख संयोजक ओमप्रसाद थापा काउचा सहयोग जुटाउन कस्सिए । चन्दा संकलन संयोजन गर्ने जिम्मा काउचाले लिएका थिए ।

काउचाको पहलमा समाजका भातृसंगठनहरू विशेष गरि भार्सेली समाज यूकेका अध्यक्ष प्रेम बुढाथोकी, ग्वाघाली समाज यूके अध्यक्ष देव कवर, एएफसी गुल्मेली थर भाई यूकेका सहकोषाध्यक्ष तथा विरामीको भाउजु श्रीमती मिना श्रीस, संस्थाका सदस्यहरू, आफन्तजन, इष्टमित्र तथा अन्य परोपकारी दाताहरुबाट ठूलो धनराशी संकलन गरियो ।
संकलित रकम क्यान्सर पीडितको निवास रूपन्देही, सैनामैना, सालझण्डी पुगेर गुल्मी जिल्ला समाज यूके र भार्सेली समाज यूकेका आजीवन सदस्य दुर्गा राना मगर साथै भार्सेली समाज तराईका अध्यक्ष सुवेदार सोम भुजेल, सदस्य मेला चित्र दगामीको रोहवरमा बिरामीको आमा श्रीमती एककुमारी श्रीस मगरलाई चेक हस्तान्तरण गरिएको हो ।
बिरामीको श्रीमती पुनम श्रीस मगरले प्राप्त रकमले उपचार खर्चमा निकै सहयोग पुग्ने जनाउंदै दाताहरु सबैप्रति आभार व्यक्त गरेकी छन् ।
करिब ११ महिना अघिमात्र श्रीमानको दुवै मृगौला फेल भएर आफ्नै एक मृगौलासहित घरसम्पति विक्री तथा सहयोगी मनहरुमार्फत उपचार सफल भएको उल्लेख गर्दै पुनमले अहिले फेरि क्यान्सर देखिएपछि आर्थिक सहयोगका लागि गुहार माग्ने अवस्था आएको बताएकी छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


