स्कटल्यान्डमा दोस्रो नेपाली मेला- झल्कियो मिनी नेपाल, झुम्मिए विदेशी


लन्डन- संयुक्त अधिराज्यको स्कटिस राजधानी शहर एडिनबराको केन्द्रमै अवस्थित प्रिन्स स्ट्रिट गार्डेनस्थित रोस ब्यान्डस्ट्यान्ड परिसरको माहोल सोमबार निकै पृथक थियो । दिनहुं हजारौं देशी, विदेशी पर्यटक ओहोरदोहोर हुने पर्यटकीय केन्द्र दिनभर मिनी नेपालजस्तै बन्यो।
संसारभरका पर्यटकहरु आकर्षित गर्ने प्रसिद्ध एडिनबरा क्यासलको काखैमा रहेको मैदान ध्वजापताकाले सिंगारिएको थियो । कार्यक्रमस्थल वरिपरि सजाइएका सगरमाथा र बुद्धका ठूलठूला तस्विरअकिंत ब्यानरले नेपाल झल्काइरहे ।
मौलिक नेपाली भेषभूषामा सजिएका सयौं मानिस, देउडादेखि झ्याउरेसम्मका संगीत, साकेला र लाखे नाचजस्ता प्रस्तुतिले स्कटल्याण्डभित्रै मिनी नेपालको झल्को दिलाए ।
मेलाको सबैभन्दा प्रमुख आकर्षण मौलिक नेपाली कला र संस्कृति झल्काउने विविध प्रस्तुति थिए । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नेपाली जाति र समुदायका परम्परा, कला र संस्कृति मेलाका प्रस्तुतिहरुमा झल्किए ।
मेलामार्फत् स्कटल्यान्डमा नेपालीपन प्रवर्द्धन मात्र होइन, स्कटल्यान्डप्रतिको प्रेम र स्थानीय समुदायसंगको सद्भाव र मित्रताको सन्देश छर्ने कोशिस गरिएको आयोजकको भनाइ छ।
स्कटल्यान्डमा रहेका दर्जन बढी नेपाली संघसंस्थाको सहकार्यमा लन्डनस्थित नेपाली दूतावास र एनआरएनए स्कटल्यान्डद्धारा संयुक्त रुपमा आयोजित दोस्रो नेपाली मेलामा झण्डै तीन हजार स्थानीय नेपाली सहभागी बनेको आयोजकले जनाएका छन् । मेला हेर्न उल्लेख्य संख्याका स्कटिश तथा अरु विदेशी पनि झुम्मिए।

मेला उद्घाटन समारोहका प्रमुख अतिथि स्थानीय स्कटिश सांसद मार्टिन डे एमएसपीले नेपाली मेलामार्फत् स्कटल्यान्डमा नेपालको विशिष्ट कला, संस्कृतिको प्रदर्शनी भएकोमा प्रसन्नता व्यक्त गरे ।
स्थानीय स्कटिश समुदायमा नेपाली समुदायका तर्फबाट हुंदै आएको सकारात्मक योगदान र सहकार्यका लागि उनले धन्यवाद समेत दिए ।
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले मेला कुनै सांस्कृतिक महोत्सव मात्र नभइ नेपाली र स्थानीय स्कटिश समुदायबीचको मित्रता र सद्भावपूर्ण सम्बन्ध सुदृढ गर्ने मञ्च रहेको बताए । उनले नेपाल र स्कटल्यान्डबीच राज्य, समुदाय र नागरिक तीनै स्तरको सहकार्य प्रवर्द्धन गर्न आफूहरु प्रतिबद्ध रहेको जनाए ।
मेलाले विविधतायुक्त कला, संस्कृति, संगीत, खाना र आतिथ्य सत्कारजस्ता नेपालका विशिष्ट पहिचानलाई स्कटिश समुदायमाझ प्रदर्शन गर्ने अवसर दिलाएको कार्यवाहक राजदूत दुवाडीको भनाइ थियो। नेपाली दूतावास लन्डनको पहलमा स्कटल्यान्डका सबै क्षेत्रलाई एकै ठाउँमा जोडेर गत वर्ष शुरु भएको नेपाली मेलाको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा गौरव व्यक्त गर्दै उनले मेहनत र सक्रियताका लागि स्थानीय नेपाली समुदायलाई धन्यवाद दिए ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले नेपाली मेलाले स्कटल्यान्डको सिंगो नेपाली समुदायलाई एकताबद्ध गरेको भन्दै यसको निरन्तरतामा जोड दिए ।
समारोहको अध्यक्षता गरेका एनआरएनए स्कटल्यान्ड संरक्षक काशीराम भण्डारीले यसपटक मेलामा स्थानीय स्कटिश समुदायको सहभागिता बढ्नु उपलब्धिपूर्ण रहेको बताए । मेला स्टलहरुमा गैरनेपाली समुदायका लागि ३० प्रतिशत छुटको विशेष व्यवस्था मिलाइएको उनले जनाए ।
मेला संयोजक एवं एनआरएनए स्कटल्यान्ड अध्यक्ष शेरबहादुर केसीले यसपटक नेपाली मेलामार्फत् नेपालको पर्यटन प्रवर्द्धन, स्कटिश र विदेशी समुदायमाझ मौलिक नेपाली कला, संस्कृति र परम्परा प्रदर्शनी तथा स्कटल्यान्डमै हुर्किंदै गरेको नेपालीकै नयाँ पुस्तालाई नेपाल र नेपालीपनसंग जोड्ने लक्ष्य राखिएको बताए।

नेपाल र स्कटल्यान्डका राष्ट्रिय गानसंगै मेलाको उद्घाटन गरिएलगत्तै स्कटिश पाइपर र नेपाली नौमती बाजाको धुनसहित सांस्कृतिक परेड गर्दै मेलास्थल परिक्रमा गरिएको थियो । परेडमा स्थानीय विभिन्न नेपाली संघसंस्था र समुदायले आ आफ्ना कला, संस्कृति झल्काउने प्रस्तुति गरेका थिए ।
परेडमा सहभागीहरुले मातृभूमि नेपाल र कर्मभूमि स्कटल्यान्डप्रतिको प्रेम तथा दुवै समुदायबीचको सद्भाव बढाउने खालका सन्देशअंकित पोस्टर र पम्पलेट प्रदर्शन गरेका थिए।
परेडपछि स्थानीय समुदाय र कलाकारहरुको सहभागितामा विविध सांस्कृतिक प्रस्तुतिहरुमार्फत् मौलिक नेपाली कला, संस्कृतिक प्रदर्शन गरिएको थियो। त्यसअवसरमा भजनकीर्तनदेखि मौलिक नेपाली लोकदोहोरी र झयाउरे भाका गुञ्जिएका थिए । पूर्वमा प्रचलित साकेला, नेवार समुदायको लाखेनाचदेखि पश्चिमको देउडा नृत्यसमेतका विविधतायुक्त नृत्य र प्रस्तुतिले सहभागीको मन जितेका थिए ।
सो अवसरमा गत वर्ष सम्पन्न पहिलो नेपाली मेला स्कटल्यान्डलाई सफल बनाउन योगदान पुर्याउने एनआरएनए स्कटल्यान्डका तत्कालीन अध्यक्ष दिवाकर पाण्डेसहितलाई लन्डनस्थित नेपाली दूतावासका तर्फबाट सम्मान गरिएको थियो।

मेलामा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरुले समेत सांगीतिक प्रस्तुतिमार्फत् मनोरञ्जन दिलाए । प्रकाश दूतराज, इन्द्र जिसी, मञ्जु विक, शोभा त्रिपाठी, रमेशराज भट्टराईजस्ता राष्ट्रिय कलाकारका साथ स्थानीय नेपाली ब्यान्डले समेत आफ्नो प्रस्तुति गरेका थिए ।
मेलास्थलमा राखिएका डेढ दर्जन स्टलमा पनि सहभागीहरु झुम्मिरहेका देखिन्थे । मौलिक नेपाली खाना, नेपाली पोशाक र सामग्री, व्यापारिक र हेल्थ क्याम्पसम्मका स्टल राखिएका थिए ।
केही अघिसम्म लन्डन केन्द्रबाट ओझेल परेको महशुस गर्ने स्कटल्याण्डका नेपाली अचेल नेपाली दूतावासको अभिभावकत्वबाट पनि दंग छन् किनभने दूतावासले त्यहां नेपाली मेला, राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर लगायत गतिविधि गरिरहेको छ ।














सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


