बिहीबार, वैशाख १३, २०८१
10:58 | १५:४३

यूकेमा कोभिडले फेरि अर्का गोर्खाको ज्यान लियो

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२१

लन्डन । यूकेमा कोभिड संक्रमणका कारण भूतपूर्व गोर्खाहरुको ज्यान जाने क्रम निरन्तर छ । हप्तैपिच्छे कोभिड संक्रमित केही गोर्खाहरुको निधन भएका खबर सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा बेलायतको फार्नबरोमा बस्दै आएका पूर्व गोर्खा बुद्धवीर तामाङको गत आइतबार निधन भएको छ ।

कोभिड संक्रमण भएपछि २४ दिनअघि स्थानीय ‘फ्रिमली पार्क अस्पताल’ भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको परिवारलाई उद्धृत गर्दै गेसोका कार्यवाहक सभापति धर्म तामाङले जानकारी दिए ।

७२ वर्षीय तामाङ अस्पताल भर्ना भएको केही दिनमा अवस्था थप नाजुक बनेपछि ‘भेन्टिलेटर’ मा राखिएको थियो । उनी यसअघि अन्य कुनै दीर्घरोगबाट पीडित नरहेको परिवारले जनाएको छ ।

भोजपुर षडानन्द नगरपालिका ११ झ्याउँपोखरी घर भएका मृतक तामाङ बेलायतमा श्रीमती र कान्छी छोरीका साथ बस्दै आएका थिए । उनीहरु दुई वर्ष अघिमात्रै बेलायत आएका हुन् । मृतकका एक छोरा हङकङमा छन् भने अरु दुई छोरी नेपालमा छन् ।

मृतकको शवलाई नेपालमै लगेर अन्त्येष्टि गर्ने इच्छा परिवारले राखेको छ । तर, कोभिड संक्रमणले निधन भएका कारण शव नेपाल लैजान कठिन परेको गेसो कावा सभापति तामाङ बताउँछन् ।

‘हामीले दूतावासमा बुझ्दा पनि कोभिडका कारण निधन भएकाले शव नेपाल लैजान नमिल्ने जानकारी पायौं’, उनले भने, ‘संक्रमण भएर अस्पताल भर्ना हुनुभएको हो । यदि मृत्यु हुने बेलासम्म संक्रमणमुक्त भइसकेको रिपोर्ट आयो भने मात्र नेपाल लैजान सम्भव हुने देखिन्छ । अस्पतालबाट अन्तिम रिपोर्ट पर्खिरहेका छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू