शनिबार, वैशाख ८, २०८१
20:37 | ०१:२२

बेलायतका बुद्धिजिवी डा लक्सम्बाको कोभिडपछि ‘स्ट्रोक’ ले निधन

नेपाली लिङ्क जनवरी २६, २०२१

लण्डन । बेलायतको नेपाली समुदायका एक चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बाको निधन भएको छ । 

बेलायतको फार्नबरोस्थित फ्रिम्ली पार्क अस्पतालमा उपचारकै क्रममा मंगलबार उनको निधन भएको उनका सहकर्मी डा. कृष्ण अधिकारीले नेपाली लिंकसंग पुष्टि गरे ।

५९ वर्षीय डा लक्सम्बालाई कोभिड संक्रमणपछि विगत ९ दिनदेखि अस्पतालमा राखेर उपचार भइरहंदा सोमबार अचानक ‘स्ट्रोक’ (मस्तिष्कघात) भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

पुर्ख्यौली घर ताप्लेजुंग भएपनि नेपालमा उनको बसोबास धरानमा थियो । बेलायत अल्डरसटनजिक फ्रिम्लीमा बस्दै आएका उनका श्रीमती र दुई छोरा छन् ।

पछिल्लो समय डा लक्सम्बा नेपालस्थित ओपन युनिभर्सिटीमा प्राध्यापकका रुपमा कार्यरत थिए । 

बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा रिसर्च फेलोका रुपमा समेत काम गरेका उनी ‘सेन्टर फर नेपाल स्टडिज’ (सिएनएस यूके) का पूर्व अध्यक्ष थिए । बेलायतमा नेपालीको जनगणना गर्न उनको उल्लेख्य योगदान थियो । 

बेलायती सेनामा १९ वर्ष सेवा गरेका लक्सम्बाले यहाँको सरे युनिभर्सिटीबाट पिएचडी गरेका थिए । एनआरएनए यूकेमा अशोक श्रेष्ठको पालामा उनी कार्यसमितिका उपाध्यक्ष थिए ।

बेलायत तथा नेपालमा बौद्धिक छवि बनाएका उनले भूतपूर्व गोर्खा आन्दोलन एवम् एनआरएनए अभियानमा पनि निरन्तर योगदान गर्दै आएका थिए । केही समयअघि मात्रै उनलाई नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयमा सिनेट सभा सदस्यमा मनोनित गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू