सोमबार, ७ सेप्टेम्बर, २०२६
09:27 | १४:१२

धरान समाज यूकेको भेलामा बाढीपीडितका लागि सहयोग संकलन

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२६

लण्डन- धरान समाज यूकेको वार्षिक भेला गत शनिबार लण्डनको फेल्थममा सम्पन्न भएको छ। करिब ४०० जनाको सहभागिता रहेको कार्यक्रममा नेपालका बाढीपीडितका लागि सहयोग संकलन गरिएको थियो।

कार्यक्रमको पहिलो चरणको औपचारिक सत्र समाजका महासचिव बल्लभ गुरुङले सञ्चालन गरेका थिए। उपाध्यक्ष डा. महा राईले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै धरान समाज यूकेका अध्यक्ष निकेश लिम्बुले यस वर्षको भेला विगतका वर्षभन्दा फरक रहेको बताए। नेपाल बाढी तथा विपत्तिका कारण शोकमा रहेका बेला भेला गर्ने वा नगर्ने विषयमा छलफल भए पनि ‘शोकलाई शक्तिमा बदलौं’ भन्ने भावनाका साथ कार्यक्रम अघि बढाइएको उनले बताए।

उनले भेलाबाट संकलित केही रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिए। “सहयोग ठूलो नहुन सक्छ, तर यसमा समेटिएको माया, संवेदना, एकताको भावना र देशप्रतिको जिम्मेवारी अमूल्य छ,” अध्यक्ष लिम्बुले भने।

उनले विपत्तिका समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्दै समुदायका सदस्यहरूलाई समेत सुख–दुःखमा साथ र सहयोग गर्ने परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। सहयोग र योगदान गर्ने सबैप्रति उनले धरान समाज यूकेको तर्फबाट आभार व्यक्त गरे।

सो अवसरमा किरात याक्थुङ चुम्लुङ युके अध्यक्ष कमला लिम्बू, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने र धरान समाज यूकेका सल्लाहकार पदम राईले पनि शुभकामना दिएका थिए।


भेलाको दोस्रो चरणमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। सांस्कृतिक सचिव विद्या राई र उपाध्यक्ष पविन राईले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए।

सुमी राई, बौद्ध सुनुवार, विनय राई, किरण कुमार सुब्बा तथा The Buskers Band ले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको अन्त्यमा डिजे डान्ससमेत आयोजना गरिएको थियो।

कार्यक्रममा अमर राई फोटोग्राफीले फोटोग्राफीको जिम्मेवारी सम्हालेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू