मंगलबार, वैशाख ११, २०८१
17:04 | २१:४९

बेलायतमा मृतक संख्यामा कमी, ६१० को निधन

३० हजार ४ जना नयां संक्रमित

नेपाली लिङ्क जनवरी २४, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा केहि कमी आएको छ । पछिल्लो २४ घन्टामा ६१० जना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । आइतबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोना मृतक संख्या ९७ हजार ९३९ पुगेको छ ।

यसैगरी संक्रमितको संख्यामा पनि कमी आएको छ । गएको २४ घन्टामा ३० हजार ४ जना नयां संक्रमित थपिएका छन् । संक्रमित संख्या ३० हजारको हाराहारीमा झरेको सन् २०२१ लागेपछिकै पहिलो हो ।

नयां संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ । हाल अस्पतालमा झन्डै ३८ हजारको उपचार भइरहेको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले बताए अनुसार हाल अस्पताल भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी छ भने पहिलाको तुलनामा दोब्बर बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

यसैगरी कोरोना संक्रमणका कारण भेन्टिलेटर बेडमा उपचारार्थ बिरामीको संख्या चार हजार नाघेको छ, जुन महामारी यताकै नयाँ रेकर्ड भएको अधिकारीहरुले बताएका छन् ।

 ६३ लाख बढीलाई दिइयो खोप

हालसम्म बेलायतमा ६३ लाख ५३ हजार ३२१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको स्वास्थ्य विभागको तथ्याँकमा छ । जसमध्ये चार लाख ६९ हजार ६६० जनाले खोपको दोस्रो डोज पनि प्राप्त गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू