शुक्रबार, वैशाख ७, २०८१
21:36 | ०२:२१

पेरिसमा राहतको माग गर्दै होटल व्यवसायीद्वारा जुलुस

रासस / एएनआई अक्टोबर १३, २०२०

पेरिस, फ्रान्स, २७ असोज– होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग प्याकेजहरू उपलब्ध गराउन माग गरेका हुन् ।

कोभिड–१९ सङ्क्रमण दर पुनः बढ्न थालेपछि सरकारले शहरी क्षेत्रमा प्रतिबन्धका उपायहरू तीव्र पारेको छ । सङ्क्रमण नियन्त्रणका उपायको अवलम्बन गर्दा आफ्नो व्यवसाय धरापमा परेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । पेरिस शहर प्रशासनले गत हप्ता अधिकतम कोरोनाभाइरस सङ्क्रमणको चेतावनी दिँदै भाइरसको थप प्रसारलाई रोक्नको लागि बार, स्विमिंग पूल र जिम १४ दिन बन्द गर्ने आदेश दिएको छ ।

प्रशासनले साझा स्थानहरूमा मास्क लगाउने आवश्यकता अनुसार शहरमा हिडडुल गर्ने र सामाजिक दूरीका नियमहरूलाई पालना गर्न जुलाईमा पुनः निर्देशन जारी गरेको थियो । एएन्आइलाई प्राप्त भिडियोमा प्रदर्शनकारीहरूले पोस्टर तथा व्यानर बोकेर विरोध प्रदर्शन गरेको देखिन्छ । आन्दोलनमा उत्रिएका कम्पनीहरूलाई सहायता, आंशिक बेरोजगार भत्तालगायतका सुविधा व्यवस्था गर्न र करहरूमा छुट दिन माग गरेका बताइएको छ ।

फ्रान्सले कोरोनाभाइरसको सङ्क्रमणको दोस्रो लहरमा मध्य ग्रीष्मकालदेखि पुनः दोहोरिएपछि दैनिक हजारौँ व्यक्ति सङ्क्रमित बनेका छन् । नयाँ संक्रमणको पछिल्लो दैनिक रेकर्डमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दैनिक २५ हजारको हाराहारीमा रहेको छ ।

हालसम्म फ्रान्समा ७७ लाख छ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ३२ हजार ७०३ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबारसम्म विश्वमा सङ्क्रमितको सङ्ख्या तीन करोड ८० लाख ६३ हजारभन्दा बढी रहेको छ भने १० लाख ८६ हजारभन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार रहेको छ भने दुई लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । दोस्रो बढी सङ्क्रमित रहेको देश भारत छ भने ब्राजिल, रूस, कोलम्बिया, स्पेन, अर्जेन्टिना, पेरु, मेक्सिको, फ्रान्स सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू