बुधबार, वैशाख १२, २०८१
19:59 | ००:४४

एनआरएनए नयां ढांचामा लैजान वहस

नेपाली लिङ्क अक्टोबर ४, २०२०

लन्डन । गैर आवासीय नेपाली संघको सांगठनिक संरचना परिवर्तनका लागि वहस तीव्र भएको छ । १३ औं एनआरएन युरोप क्षेत्रीय तथा ११ औं महिला फोरम बैठक र दोश्रो ज्ञान सम्मेलन २०२० को दोश्रो दिन आइतबार यसबारे थप छलफल भएको छ ।

दिगो, पारदर्शी, स्मार्ट एनआरएनए र भविष्य विषयक अन्तरक्रियामा संघका पदाधिकारी र आइसीसी सदस्यहरुले परम्परागत होइन, स्मार्ट एनआरएनको खांचो औंल्याए ।

एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनए कता जांदैछ भन्नेबारे अवगत गराएका थिए । उनले संस्थाभित्र केही विकृति रहेका र त्यसलाई स्वीकार्नुपर्छ भन्दै यसको अन्त्यका लागि निशुल्क सदस्यताको खांचो औंल्याए । संघ अब परिवर्तन हुने र यसलाई पुरानै ढांचामा राख्न सकिंदैन् भन्दै अध्यक्ष पन्तले विज्ञ, महिला, युवा र दक्ष जनशक्तिलाई पनि नेतृत्व चयनमा सहभागी गराउन आवश्यक रहेको बताए । एनआरएनको पारदर्शीता र आर्थिक रुपमा सशक्त बनाएर लैजान आफूहरु कटिवद्ध भएको उनको भनाइ थियो ।

संघका महासचिव महेश श्रेष्ठले संघले आर्थिक पारदर्शीता कायम गर्न थालेका गतिविधिबारे प्रकाश पारे । नयां कार्यसमितिले आर्थिक अनुशासन कायम गर्न तीन तीन महिनामा आन्तरिक अडिट, एक वर्षमा वाहय अडिट, बजेटिङ शुरु गरेको आदिबारे जानकारी दिए ।

आर्थिक पारदर्शीता भएमात्र संघलाई ‘फ्रि मेम्बरसीप मोडल’ मा लैजान विश्वास जितिने उनको धारणा थियो । आर्थिक अनियमितता अन्त्यका लागि निशुल्क सदस्यता दिन आवश्यक रहेको जोड दिंदै श्रेष्ठले संघसंग आम्दानीका विभिन्न श्रोत रहेको उल्लेख गरे । तर, संघ ११ करोडको डिफिसिटमा रहेकाले नैतिक रुपमा चुनौति भने रहेको उनले औंल्याए ।

एनआरएनए सचिव गौरीराज जोशीले सदस्यहरुको लाभका लागि स्मार्ट एनआरएनए कसरी बनाउने भन्नेबारे प्रष्टयाए । जोशीले संघको वेव पोर्टल, क्राउड फन्डिङ, मोबाइल एप, मर्चेन्ट भेण्डर, डिजिटल आइडी कार्ड, सदस्यता भेरिफिकेसन सिस्टम आदिबारे बताए ।

आइसीसी सदस्य भक्त गुरुङले सञ्चालन गरेको कार्यक्रममा महासचिव डा. हेमराज शर्माले एनआरएनए दीगो संगठन, परिणाममुखी एनआरन, बहुआयामिक एनआरएन, सिप, ज्ञान र नवप्रवर्धनका लागि एनआएन उत्तरदायी र पारदर्शी एनआरएन, व्यापक सहभागिता हुनुपर्नेमा जोड दिए । उनले नयां निर्वाचन प्रक्रिया, शून्य सदस्यता शुल्क, शून्य दर्ता शुल्क, अनलाइन भोटिङ, स्मार्ट एनआरएन अबको मुख्य एजेण्डा रहेको बताए ।

संघको महत्वकांक्षी परियोजना १० अर्बको ‘इमर्जिङ नेपाल फण्ड’ बारे चार्टर्ड अकाउन्टेन्ट ए आर भट्टराईले जानकारी दिए । गैर आवासीय नेपालीबाट पूँजी र ज्ञान भित्रयाउने भनेर सन् २०१८ मा कन्सेप्ट ल्याइएको बताउंदै उनले नेपालको विकासका लागि गैर आवासीय नेपालीलाई सहभागी गराउने मुख्य उद्देश्य रहेको जनाए । सन् २०१९ मा काठमाडौंमा भएको लगानी सम्मेलनमा सरकार र संघबीच एमओयू भएको जनाउंदै उनले ४० जनाको स्टेरिङ कमिटीले काम शुरु गरेको बताए ।

लिमिटेड लायबिलिटी कम्पनीमा दर्ता गरि पब्लिकलाई शेयर दिने योजना सुनाउंदै भट्टराईले वातावरण मैत्री प्रोजेक्ट बनाइने उल्लेख गरे । सामूहिक लगानी भनेर दर्ता नभएपनि साना र ठूला व्यवसायीलाई लगानीको अवसर, रोजगारी सिर्जना, रेमिटेन्सलाई उत्पादनमा सदुपयोग, नेपालको विकासमा सानो पूँजीले पनि प्रभाव पारोस् भन्ने उद्देश्य परियोजनाको रहेको पनि भट्टराईले प्रष्टयाए ।

एनआरएनए युरोप उपसंयोजक एवं सत्र संयोजक कृष्ण तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तिमिल्सिनाले संघको नीतिगत सुधारका लागि केन्द्रिय नेतृत्वबाट आएका प्रस्तावहरु महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा विभिन्न देशका आइसीसी सदस्यहरुले विभिन्न जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए । आइसीसी सदस्य दयानिधि सापकोटाले स्वागत मन्तव्य र अनुजा प्रधानले धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू