शुक्रबार, वैशाख ७, २०८१
00:13 | ०४:५८

इङ्ल्यान्डका पब, रेष्टुरेन्ट बिहीबारदेखि १० बजे बन्द गराइने

मंगलबार नयाँ नियम घोषणा गर्दै प्रधानमन्त्री जोन्सन

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२०

लन्डन ।  कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासमा इङ्ल्यान्डका पब तथा रेष्टुरेन्ट राती १० बजे नै बन्द गराइने भएको छ । देशमा संक्रमणको दर तीव्र रुपले बढ्दै जाँदा सरकारले आउंदो विहीबारदेखि नै यो नियम कार्यान्वयनको तयारी गरेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यससम्बन्धी नयाँ नियम घोषणा गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । त्यसअघि प्रधानमन्त्रीले यससम्बन्धी आफ्नो प्रस्तावलाई संसदबाट पारित गराएर कानूनी मान्यता दिलाउनेछन्   

विहीबारदेखि लागू गरिने नयाँ नियमअनुसार इङ्ल्यान्डभरका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी सेक्टरका सबै व्यवसाय राती १० बजे बन्द गरिसक्नुपर्नेछ । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ ।  

बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेर अलर्ट लेभल ४ पुग्दै गर्दा सरकार थप सतर्कताको प्रयासमा जुटेको छ ।  

यसअघि सरकारका विज्ञ सल्लाहकारहरुले पनि समयमै सही कदम चाल्न नसके अक्टोबर दोस्रो सातासम्म नयाँ संक्रमणको केसहरु दैनिक ५० हजार पुग्न सक्ने चेतावनी दिएका थिए ।  

त्यसैगरी, सोमबार मात्रै बेलायतमा ४ हजार ३ सय ६८ नयाँ केस थपिएका छन् भने थप ११ जनाको मृत्‍यु भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू